सोनु साह,
विराटनगर । विराटनगरलाई व्यवस्थित, सुरक्षित र सफा सहर बनाउन महानगरवासीको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। सहरलाई व्यवस्थित बनाउन सडक, पूर्वाधार र ट्राफिक व्यवस्थापनसँगै नागरिकले ट्राफिक नियमको पालना गर्नु पनि आवश्यक छ। तर विराटनगरमा ट्राफिक बत्ती जडान भएका चोकमै समेत सवारी चालक र पैदल यात्रुले नियमको बेवास्ता गर्ने गरेको पाइएको छ।
विराटनगर महानगरपालिका क्षेत्रभित्र हाल छ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ। ट्राफिक बत्तीले सवारी आवागमनलाई व्यवस्थित बनाउन सहयोग गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ। दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी चालकदेखि पैदल यात्रुसम्मले ट्राफिक संकेत र सडक अनुशासनलाई बेवास्ता गर्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको छ।
विशेषगरी साइकल यात्रीको हकमा ट्राफिक प्रहरीलाई समस्या हुने गरेको छ। रातो बत्ती बलिरहेको अवस्थामा समेत साइकल यात्रीले सडक पार गर्ने तथा ट्राफिक प्रहरीले रोक्दा पनि नरोकिने अवस्था रहेको प्रहरीको भनाइ छ। साइकललाई सवारी साधनका रूपमा कानुनी रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा रहेको सीमितताका कारण ट्राफिक प्रहरीले तत्काल कारबाही गर्नसमेत कठिनाइ हुने गरेको बताइएको छ।
मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपानेका अनुसार यो समस्या विराटनगरमा मात्र नभई देशभर नै देखिएको छ। उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा यन्त्रबाट चल्ने साधनलाई सवारी साधनका रूपमा परिभाषित गरिएको छ। त्यसैले साइकल र पैदल यात्रुलाई अन्य यान्त्रिक सवारीसाधनसरह कारबाही गर्ने कानुनी व्यवस्था नरहेको अवस्था छ।
ट्राफिक प्रहरी प्रमुख न्यौपानेले साइकल यात्री तथा पैदल यात्रुलाई समेत सडक सुरक्षाका विषयमा सचेत बनाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। उनका अनुसार ट्राफिक व्यवस्थापनमा प्रहरीको मात्र प्रयास पर्याप्त हुँदैन, नागरिक स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ।
“नियम सबै नागरिकको सुरक्षाका लागि बनाइएको हो। त्यसको पालना गराउन प्रहरीको भूमिका हुन्छ, तर नागरिक स्वयं सचेत भएर नियम पालना गर्ने हो भने धेरै समस्या आफैं समाधान हुन्छ,” उनले भने। विराटनगरका विभिन्न चोकमा पैदल यात्रुले समेत जेब्रा क्रसिङको प्रयोग नगर्ने समस्या देखिएको छ। पैदल यात्रुका लागि सडक पार गर्ने सुरक्षित स्थानका रूपमा जेब्रा क्रसिङ बनाइए पनि कतिपयले त्यसको प्रयोग नगरी सडकको बीचबाटै बाटो काट्ने गरेका छन्। यसले तीव्र गतिमा आउने सवारीसाधनसँग दुर्घटना हुने जोखिम बढाएको छ।
त्यस्तै, ट्राफिक बत्तीमा रातो बत्ती बल्दा सवारीसाधन रोक्नुपर्ने र हरियो बत्ती बलेपछि मात्र अघि बढ्नुपर्ने सामान्य नियमसमेत कतिपय चालकले पालना नगर्ने गरेका छन्। सडकका लेनसमेत व्यवस्थित रूपमा प्रयोग नगर्दा पछाडिबाट आउने सवारीसाधनलाई अवरोध हुने गरेको छ।
विशेषगरी चोकमा सवारीसाधनले आफू जाने दिशाअनुसारको लेन प्रयोग नगर्दा सडक जाम हुने गरेको छ। एउटै लेनमा सवारीसाधन रोकिँदा पछाडिबाट आउने सवारीसाधनसमेत प्रभावित हुन्छन्। यस्तो अवस्थाले आकस्मिक सेवामा रहेका एम्बुलेन्सलगायतका सवारीसाधनलाई समेत बाटो बनाउन कठिन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।
त्यसैगरी, केही चारपाङ्ग्रे सवारी चालकले जेब्रा क्रसिङमै सवारी रोकेर पैदल यात्रुलाई बाटो काट्न समस्या पार्ने गरेका छन्। ट्राफिक नियमअनुसार जेब्रा क्रसिङ पैदल यात्रुका लागि बाटो काट्ने स्थान भए पनि त्यही स्थानमा सवारी रोकिँदा पैदल यात्रुको आवतजावत असहज हुने गरेको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई प्रहरीले कारबाही तथा जरिवाना गर्ने गरेको छ। तर कारबाहीमा परेपछि समेत कतिपय चालकले ट्राफिक प्रहरीसँग विवाद गर्ने गरेको एक ट्राफिक प्रहरीले बताए।
उनका अनुसार ट्राफिक प्रहरीको संख्या सीमित भएकाले प्रत्येक सवारीसाधन र प्रत्येक व्यक्तिको गतिविधि निगरानी गर्न सम्भव हुँदैन। विराटनगरका ट्राफिक बत्ती भएका प्रत्येक चोकमा तीन जना प्रहरी खटाइए पनि उनीहरूले सबै सवारी चालक र पैदल यात्रुको गतिविधि एकैपटक निगरानी गर्न कठिन हुने गरेको छ।
प्रमुख न्यौपानेले ट्राफिक प्रहरीको जनशक्ति र स्रोतसाधन सीमित रहेको बताए। पर्याप्त जनशक्ति उपलब्ध भएमा ट्राफिक नियम उल्लङ्घन नियन्त्रणमा थप प्रभावकारी काम गर्न सकिने उनको भनाइ छ।
तर ट्राफिक व्यवस्थापनको जिम्मेवारी प्रहरीको मात्र नभएको उनले स्पष्ट पारे। सवारी चालक, साइकल यात्री र पैदल यात्रुले समेत आफ्नो जिम्मेवारी बुझेर नियम पालना गरेमा सडक दुर्घटना र अव्यवस्था धेरै हदसम्म कम गर्न सकिने उनको भनाइ छ।
विराटनगरमा ट्राफिक बत्ती जडान गर्नु मात्र पर्याप्त छैन। ती बत्तीले दिएको संकेत बुझेर त्यसअनुसार चल्ने संस्कार विकास हुनु पनि उत्तिकै आवश्यक छ। चालकले लेन अनुशासन पालना गर्ने, रातो बत्तीमा रोकिने, हरियो बत्तीमा मात्र अघि बढ्ने, जेब्रा क्रसिङमा सवारी नरोक्ने तथा पैदल र साइकल यात्रीले समेत सडक सुरक्षाका नियम पालना गर्ने हो भने विराटनगरको ट्राफिक व्यवस्थापन थप सहज बन्न सक्छ।