विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२÷२०८३ सालमा दश अर्ब ८९ करोड मूल्यका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका ६ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बंगलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो ।
पूर्वमा मोरङ, सुनसरी, झापा, उदयपुर र सिरहा र सप्तरीमा जुट बाली अहिलेपनि लाग्दै आएको छ । पाँच उद्योगमा २० हजार कृषकले उत्पादन गरेको जुट कच्चाको रुपमा भित्रन्छ भने १५ हजार श्रमिकले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् ।
अहिले जुट खेती उठाउने समय चलिरहेको छ ।
जुट उद्योग संघका उपाध्यक्ष एवं बाबा जुट मिल्सका निर्देशक प्रकाश मुन्दडाका अनुसार नेपाली किसानले जुट बिक्री गर्ने बेलामा भारतले नेपालका उद्योगमाथि नै अंकुश लगाई दिएको छ । जसको असर उद्योगहरुले किसानबाट जुट खरिद नगर्ने मनस्थितिमा पुगेका छन् ।
नेपाल उद्योग परीसंघका उपाध्यक्ष समेत रहनु भएका मुन्दडाका अनुसार भारतले अहिले जुट निर्यातमा नयाँ कर नीति लागु गरेको छ । यस अगाडी एन्टि डम्पिङ्ग ड्युटी (एडीडी) बढाएको भारतले पछिल्लो समय काउन्टर भ्याली ड्युटी (सीभीडी)को नियम लगाई दिएको हो । जुन नियमले नेपाली जुट उद्योगीले भारत र बंगलादेशबाट कच्चा आयात गरेर मालवस्तु उत्पादनपछि निर्यात गर्ने बाटो मात्रै नभई नेपाली किसानको जुट खरिद गरेर प्रशोधनमा समेत अवरोध पुग्ने दावी गरिएको छ ।
भारतले अघिल्लो साता एडीडीमा ५६ गुणासम्म बृद्धि गरेको थियो । त्यो कार्यन्वयनमा ल्याएको केहिदिनमै काउन्टर भ्याली ड्युटी समेत तोकेको हो । भारतको नियम अनुसार पाँचवर्षका लागि एडीडी तोकिन्थ्यो । तर, मध्यावधी पुनरावलोकन गर्दै भारतले सन् २०२७ डिसेम्बरमा सकिने म्यादलाई एकवर्ष अगाडी नै नयाँ नीति लगाइदिएको मुन्दडाले बताउनुभयो ।
यसैबिच भारतले असोज १३ देखि लागु हुने गरी चर्को दरको सीभीडी पनि लागु गरेको हो । भारतले एडीडी र सीभीडी दुवै करको दर उच्च तोकेको छ, जुन उद्योगले एडीडी छुट पाएका छन्, त्यसलाई सीभीडीमा बाँधेको छ ।
भारतमा नेपालबाट जुटको हेसियन फेब्रिकको निर्यात सबैभन्दा बढी हुँदै आएको छ । गत आर्थिक वर्षको तथ्यांकमा सात अर्ब २६ करोडको ८१ लाख मूल्यको निर्यात भएको देखिन्छ । जुन जुटको वस्तु बढी निर्यात हुन्थ्यो, त्यहि वस्तुमा भारतले एडीडीको दर बढाइदिएको छ । करिडोरको स्वस्तिक जुट मिल्सले ८.१८ डलर बुझाउँदै आएकोमा अहिले बृद्धि गरेर लागु हुँदा १३२ डलर एडीडी पुगेको छ ।
भारतले तोकेको सीभीडी यो उद्योगका लागि टनको ५४.७७ डलर छ । उहि उद्योगले एडीडी १३२ डलर बुझाउने भएका कारण त्यो भन्दा कम दरको सीभीडीका प्रावधानमा यसलाई राखिएको छैन । तर, त्यहि उद्योगको बोरामा ३२.२ डलर एडीडी कायम रहेकोमा नयाँ प्रावधानको सीभीडी ९७ डलर कायम हुँदा बढेको प्रावधान लागु गरिने भएको छ । स्वस्तिकले सन् २०२२ यता डोरीमा टनको १५.३६ डलर एडीडी बुझाउँदै आएको थियो । असोज ९ गतेदेखि लागु भएको एडीडी ९४ डलर रहेको छ । सीभीडी ५४.७७ मात्रै भएका कारण उद्योगले एडीडीको उच्च दरमा समेटिनु पर्नेछ ।
दुई वर्षअघि विराटनगरमा खुलेको पशुपतिनाथ जुट मिल्स २०२२ सम्म भारतमा सूचीकृत नभएको हुँदा त्यसले अनरजिस्टर्ड सरह एडीडी बुझाइरहेको थियो । जसअनुसार हेसियन फेब्रिकमा टनको ८.१८ डलर बुझाइरहेको थियो ।
भारतको अर्थमन्त्रालयले यस उद्योगलाई हेसियन फेब्रिकमा टनको ६० डलर एडीडी बुझाउनु पर्ने जनाएको छ ।
मंगलबार प्रकाशित भारत राजपत्रमा यस उद्योगलाई टनको ५८.५ डलर सीभीडी लगाइएको छ । तर सीभीडीका तुलनामा एडीडीको दर बढी ६० डलर भएकाले यही एडीडी बुझाउनु पर्नेछ । यसलाई सीभीडी लाग्नेछैन ।
देवेनरा मुन्दडा समूहबाट संचालित बाबा जुट मिल्सले हेसियन फेब्रिकमा बुझाउँदै आएको टनको ६.३ डलर एडीडी १० गुना भन्दा बढीले वृद्धि भएको छ । यस उद्योगलाई उक्त वस्तुमा एडीडी ६४ डलर तोकिएको छ ।
भारतले यस उद्योगलाई टनको ५८.५ डलर सीभीडी तोकेको छ
मुन्दडा समूहको बाबा जुट मिल्सले २०२२ यता बोरामा टनको ३३.७३ र डोरीमा २६.०७ डलर एडीडी बुझाउँदै आएको थियो । नयाँ सूचनाले यसमा परिवर्तन गर्दै बोरामा टनको १५३ र डोरीमा ५९ डलर कायम गरेको छ । भारतमा जारी सूचनामा बाबाका उत्पादनमा सीभीडी टनको ५८.५ डलर तोकेको छ ।