विराटनगर । विराटनगरमा उत्पादन हुँदै आएको लोकप्रिय नेपाली नुडल्स ब्रान्ड रमपम अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो मञ्चमा देखिएको छ।
भारत र वेस्ट इन्डिजबीचको ट्राइ–सिरिजअन्तर्गत सम्पन्न खेलमा रमपम ग्राउन्ड स्पोन्सरका रूपमा सहभागी भएको हो। खेलका क्रममा मैदानमा रमपमको ब्रान्डिङ देखिएसँगै नेपाली उत्पादन र स्वादको पहिचान अन्तर्राष्ट्रिय क्रिकेट दर्शकमाझ समेत पुगेको कम्पनीले जनाएको छ।
खेलका क्रममा भारतीय क्रिकेटका चर्चित खेलाडी विराट कोहली र रोहित शर्मा समेत रमपमको ब्रान्डिङसँगै क्यामेरामा देखिएका थिए। उक्त दृश्यलाई रमपमले आफ्नो सामाजिक सञ्जालमार्फत विशेष रूपमा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटको मैदानमा नेपाली ब्रान्डको दृश्यता बढ्नुले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
विराटनगरबाट उत्पादन हुँदै आएको रमपम नेपाली बजारमा लामो समयदेखि लोकप्रिय नुडल्स ब्रान्डका रूपमा स्थापित छ। अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा ब्रान्डको उपस्थितिले विराटनगरमा उत्पादित नेपाली वस्तुको पहिचानलाई समेत थप फराकिलो बनाएको कम्पनीको भनाइ छ।