विराटनगर । दशैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको छ ।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा यात्रा क्रममा हुन सक्ने बढी भाडा असुली, टिकटमा ठगी, दुव्र्यवहार र अन्य समस्याको तत्काल सुनुवाइ एवं समाधानका लागि मोरङका विभिन्न १० स्थानसहित कोशी प्रदेशका ४८ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो ।

सहायता कक्षको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शेखर खनालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै डीआईजी खनालले सार्वजनिक यातायातमा बढी भाडा लिने, यात्रुलाई ठगी गर्ने, दुव्र्यवहार गर्ने वा अन्य कुनै समस्या सिर्जना भए सहायता कक्षमा रहेका प्रहरी तथा यातायात व्यवसायीका प्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे ।

यात्रुको गुनासो सुन्ने मात्रै नभई तत्काल समाधानका लागि प्रहरी सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले चाडपर्वका बेला यात्रुलाई कुनै पनि बहानामा दुःख दिन नहुने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउनुका साथै यात्राका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रहरीसँग तत्काल सम्पर्क गराउने व्यवस्था गरिएको छ ।

यात्रा क्रममा कुनै समस्या परेमा सहायता कक्षमार्फत प्रहरीसम्म तत्काल पहुँच पुर्याउन सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।