विराटनगर । विराटनगर–१४ रानीस्थित हाजी आँखा अस्पतालको सेयर कारोबारको रकम भुक्तानीको विषयलाई लिएर अस्पतालका पूर्वसञ्चालक र मुख्य सञ्चालकबीच विवाद चर्किएको छ।
पूर्वसञ्चालकहरूले सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको दाबी गरेका छन् भने अस्पतालका मुख्य सञ्चालक मन्नुकुमार गुप्ताले अदालतको आदेशअनुसार रकम बैंकमा दाखिला गरिसकेको बताएका छन्।
शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अस्पतालबाट बाहिरिएका पूर्वसञ्चालकहरूले सेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि सम्झौताअनुसार रकम नपाएको बताएका हुन्। रकम भुक्तानीका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूहरू कानुनी प्रक्रियामा जान बाध्य भएको उनीहरूको भनाइ छ।
अस्पतालका कुल १६ जना सञ्चालकमध्ये मन्नुकुमार गुप्ताबाहेक १५ जनाले अस्पतालबाट बाहिरिने निर्णय गर्दै आफ्नो सेयर बिक्री गरेका थिए। तीमध्ये चार जना पूर्वसञ्चालकले आफूहरूले पाउनुपर्ने रकम अझै प्राप्त नगरेको दाबी गरेका छन्।
पूर्वसञ्चालकहरूका अनुसार डा. गुणराज कट्टेलले ५ लाख ७८ हजार रुपैयाँ, जेउल कमरले १९ लाख ६२ हजार ६ सय ७ रुपैयाँ, राजेश शाहले ३० लाख ६३ हजार ४ सय रुपैयाँ र मो. अतहर अन्सारीले ५० लाख ८० हजार १ सय ५६ रुपैयाँ पाउन बाँकी छ।hagi 2
पूर्वसञ्चालक मो. अतहर अन्सारीका अनुसार गत जेठमा सेयरबापत दिइएको चेक बैंकमा साट्न खोज्दा खातामा पर्याप्त रकम नभएपछि फिर्ता भएको थियो। सम्झौताअनुसार रकम नपाएपछि चारै जना पूर्वसञ्चालकले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए।
उच्च अदालत विराटनगरले असोज ५ गते उनीहरूको पक्षमा फैसला सुनाएको उनीहरूले बताएका छन्। अदालतको आदेशपछि पनि रकम प्राप्त नभएको भन्दै उनीहरूले अस्पताल सञ्चालक र बैंकिङ प्रक्रियामाथि समेत प्रश्न उठाएका छन्।
पूर्वसञ्चालकहरूको आरोपअनुसार अदालतको आदेशपछि सञ्चालक गुप्ताले आफू कालोसूचीमा पर्नबाट जोगिन बैंकमार्फत रकम भुक्तानीको प्रक्रिया अघि बढाएका थिए। तर बैंकका कर्मचारीको समेत मिलेमतोमा निवेदन फिर्ता लिन लगाएर रकम भुक्तानी नगरिएको उनीहरूको आरोप छ।
उनीहरूले बैंकका कर्मचारीको भूमिकामाथि समेत छानबिन हुनुपर्ने माग गरेका छन्। यस विषयमा प्रहरीमा उजुरी दिने तयारीसमेत भइरहेको उनीहरूले बताएका छन्।
तर अस्पतालका सञ्चालक गुप्ताले भने पूर्वसञ्चालकहरूको आरोप अस्वीकार गरेका छन्। अदालतको फैसला सम्मान गर्दै आफूले असोज ५ गते नै कुमारी बैंकमा १ करोड ६० लाख रुपैयाँ जम्मा गरिसकेको उनको दाबी छ।
‘अदालतको फैसलापछि मैले असोज ५ गते नै कुमारी बैंकमा पैसा जम्मा गरिदिएको छु,’ गुप्ताले भने, ‘उहाँहरूले साँवा रकम मात्र नभई थप ब्याजसमेत माग गर्नुभएको छ। त्यही कारण उहाँहरू आफैं रकम बुझ्न अस्वीकार गर्नुभएको हो।’
गुप्ताले आफूविरुद्ध चरित्रहत्या गर्ने उद्देश्यले झुटा आरोप लगाइएको दाबी गर्दै रकम जम्मा गरेकोलगायतका सम्पूर्ण प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्।
२०७९ मंसिर २६ गतेदेखि सञ्चालनमा आएको हाजी आँखा अस्पतालमा सञ्चालकबीच आन्तरिक विवाद सुरु भएपछि विराटनगर–१४ वडा कार्यालयमा भएको छलफलमा अस्पतालबाट बाहिरिने सञ्चालकहरूको रकम ६ महिनाभित्र फिर्ता गर्ने सहमति भएको थियो। तर, तोकिएको समयसीमामा रकम भुक्तानी नभएपछि विवाद कानुनी प्रक्रियामा पुगेको पूर्वसञ्चालकहरूको भनाइ छ।
हाल पूर्वसञ्चालकहरूले रकम नपाएको दाबी गरिरहेका छन् भने अस्पताल सञ्चालकले अदालतको आदेशअनुसार रकम बैंकमा दाखिला भइसकेको बताइरहेका छन्। दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि हाजी आँखा अस्पतालको सेयर कारोबारसम्बन्धी विवाद थप पेचिलो बनेको छ।