दशैंअघि विराटनगरवासीको घरघरमा पुग्नेछ नयाँ परियोजनाको शुद्ध खानेपानी

<span class='c1'>दशैंअघि विराटनगरवासीको घरघरमा पुग्नेछ</span> <span class='c2'>नयाँ परियोजनाको शुद्ध खानेपानी</span>

विराटनगर । विराटनगरवासीले अब दशैंअघि नै नयाँ परियोजनामार्फत थप क्षमताको शुद्ध खानेपानी पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा विराटनगरमा सञ्चालन भइरहेको बृहत्तर खानेपानी परियोजनाको निर्माण कार्य लगभग सम्पन्न भएको छ । नेपाल खानेपानी संस्थान विराटनगरका अनुसार परियोजनाअन्तर्गत खानेपानीको उत्पादन, प्रशोधन तथा वितरण क्षमता विस्तारसँगै पुराना संरचनाको सुधार, नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमतासमेत वृद्धि गरिएको छ ।

जाइकाको करिब २ अर्ब ५४ करोड रुपैयाँको अनुदान सहयोगमा दुई वर्षअघि सुरु भएको परियोजनाको निर्माण अवधि यही २०२६ अक्टोबरसम्म तोकिएको थियो । तर, तोकिएको समयभन्दा अगावै अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको संस्थानले जनाएको छ । अब यो परियोजना हस्तान्तरण हुने अवधी २५ दिन बाँकी रहेको छ । यो बीचमा विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी रहेको र ती कामसमेत छिट्टै सम्पन्न गरी दशैंअघि नै नयाँ प्रणालीबाट पानी वितरण गर्ने तयारी भइरहेको छ । नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताए ।

उनले भने, “तोकिएको समयभन्दा अगावै हामीले परियोजनाको अधिकांश काम सम्पन्न गरिसकेका छौँ । अब विद्युत् जडानलगायत केही काम मात्र बाँकी छन् । ती काम पनि आजभोलि नै सक्ने गरी काम भइरहेको छ । दशैंअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्‍याउने हाम्रो योजना छ ।” परियोजना सम्पन्न भएपछि विराटनगरमा दैनिक खानेपानी वितरण क्षमता उल्लेख्य रूपमा वृद्धि हुने संस्थानले जनाएको छ । अहिलेको संरचनाबाट भन्दा थप क्षमतामा पानी उत्पादन तथा वितरण गर्न सकिनेछ । रौनियारका अनुसार पहिलेको प्रणाली अनुसार, ९० लाख लिटर वितरण हुदै आएकोमा अब १ करोड बढी भन्दा लिटरसम्म पानी वितरण गर्न सकिनेछ ।

परियोजनाअन्तर्गत विराटनगरका विभिन्न स्थानमा रहेका खानेपानी संरचनाबाट पानी वितरण गरिनेछ । देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ स्थित कोचाखाल पश्चिममा रहेका ट्यांकीबाट पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा भने परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकी निर्माण गरिएको छ । नयाँ परियोजनाले खानेपानी संस्थानको वितरण प्रणालीलाई समेत व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । पाइपलाइन तथा फिल्टर प्रणालीको क्षमता वृद्धि गरिएकाले उपभोक्ताले विगतको तुलनामा नियमित र गुणस्तरीय पानी पाउने संस्थानको विश्वास छ । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २ सय ग्राहक रहेका छन् । नयाँ परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा बढ्दो जनसंख्याको माग सम्बोधन गर्न सहज हुने संस्थानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्