विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने रिच स्टेकर र कन्टेनरको भार थेग्न नसक्दा यार्डको कालोपत्रे उप्किएर फाटेको हो ।
कार्गोरेलमा आएका कन्टेनरलाई उचाईबाट भुँईमा झार्नका लागि ७० टन क्षमताको क्रेन (रिच स्टेकर) प्रयोग गरिन्छ । कन्टेनरको वजन भने २० फिट र ४० फिटमा अलगअलग हुन्छ । रेलको ¥याकबाट कन्टेनर झार्दा त्यसको माथिल्लो भागबाट क्रेनले समात्छ । त्यसपछि अझै माथिल्लो भागतर्फ उठाएर यार्डमा झार्नुपर्ने हुन्छ । यस्तो अवस्थामा भारी वजनको क्रेन र कन्टेरको भार थाम्न बलियो अल्पाल्ट भुँई हुनुपर्छ । विराटनगरको यार्डले भने भार थेग्न नसक्दा भत्किएपछि समस्या उत्पन्न भएको हो ।
यार्ड भत्किएपछि त्यसको मर्मत कसले गर्ने भन्ने प्रश्न उब्जिएपछि कार्गोरेल समेत अलमलमा परिरहेको आईसिपीको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपाल टिआरएस लोजीपार्क प्रा.लि.का प्रमुख व्यवस्थापन लक्ष्मी सुब्बाले जानकारी दिनुभयो । सुब्बाले मर्मत गर्ने निकाय नै भेट्न नसकेको गुनासो गरेपछि प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापतिले स्थलगत निरीक्षण समेत गर्नुभएको छ ।
समस्या उत्पन्न भएपछि संघीय संसद, पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आइतबार नेपाल कष्टम यार्डको अनुगमन गर्नु भएको थियो । पूर्वाधार विकास समितिका सभापति गजुरेलका अनुसार यसको तत्काल मर्मत गर्नुपर्ने अवस्था देखिएकोले त्यहि अनुसारको निर्देशन समेत गरिएको छ ।
‘मैले एनसीवाईबाटै नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेड’ लाई तत्काल बजेट प्रवन्ध गरेर मर्मत गर्न भनेको छु, सभापति गजुरेलले भन्नुभयो–यार्ड भारतले निर्माण गरेर हस्तान्तरण गरिसकेकोले नेपालले नै मर्मत गर्नुपर्ने हुन्छ । त्यस बाहेक इन्टर मोडल यातायात विकास समितिले ठेक्का लगाएर निर्माण गरेको कल्भर्ट (पुल), सडक समेत भासिएकोले तत्काल मर्मत गर्न भनिएको उहाँले बताउनुभयो । एनसीवाई र आईसिपी जोड्ने सडक तथा पुल समेत कन्टेनर बोक्ने मालवहाक सवारीको भार थेग्न नसक्दा भासिएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा पूर्वाधार विकास समितिका कार्यक्रमहरु रहेका बेला सभापति गजुरेल आईसिपी नजिकको नेपाल कष्टम यार्ड पुगेर अनुगमन गर्नु भएको हो । यस अगाडी नेपाल इन्टरमोडल यातायात विकास समितिमा प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारीमा सभापति गजुरेल नै हुनुहुन्थ्यो ।
नेपालमा रेल वे निर्माणको काम रेल विभागले गर्दछ । त्यसको सञ्चालन रेल वे कम्पनी लिमिटेडले गर्दछ । भन्सारमा आयात–निर्यात सहजीकरण व्यवस्थापनको काम भने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड हेर्दछ । अलग अलग निकाय जोडिएका कारण यार्ड भत्कदाँ कसले मर्मत गर्ने भन्ने दोधार सिर्जना हुँदै आएको छ ।
वजन थाम्न नसक्दा यार्डमा खाल्डाखुल्डी परेको छ । यार्ड दह्रो नभएमा ¥याकबाट कन्टेनर झार्न संभव नहुने दावी गरिन्छ । यस्तोमा दुर्घटना जोखिम हुने प्रमुख व्यवस्थापक सुब्बाको भनाई छ ।
यो कार्गोरेल ल्याउने विषयमा समेत नेपाल रेलवे कम्पनी लिमिटेड र तत्कालिन इन्टरमोडल यातायात विकास समिति संलग्न भएका थिएनन् । यी दुवै नियामक निकाय भन्दा बाहिर निजी कम्पनी ट्रान्स नेपाल टिआरएस लोजीपार्क अग्रसर भएको थियो ।
अहिले कन्टेनर राख्ने यार्ड, ब्यागेज कार्गो (बोरामा आएका सामग्री) राख्ने प्लेटफर्म र एनसीवाईदेखि भन्सार कार्यालयस्थित आइसिपीसम्म पुग्ने बाटो तीनवटै संरचना भत्केपछि भने निजी कम्पनीलाई समस्या परेको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रवन्धक तुलसी पोखरेलले यसको मर्मतका लागि स्रोत व्यवस्थापनको प्रक्रिया थालिएको जानकारी दिनुभयो । उहाँले रेलवे बोर्डबाट हस्तान्तरणको काम केहि बाँकी रहेकाले अन्यौल भएको बताउनुभयो । उहाँले दुईवटा कम्पनी गाभिने कुराले पछिल्लो समय केहि समय व्यतित भएपनि यार्ड मर्मत गर्ने विषयमा प्रारम्भिक छलफल सोमबार नै भइसकेको बताउनुभयो । पोखरेलले संघीय संसद, पूर्वाधार विकास समितिका सभापतिको निर्देशनलाई मनन गरेर अगाडीको प्रक्रिया सोमबारबाटै थालिएको बताउँदै भन्नुभयो–मर्मतको प्रक्रियामा जान्छौं ।