विराटनगर । प्रमुख चाडपर्व नजिक आएसँगै सशस्त्र प्रहरी बल नेपालको कोशी प्रदेशस्थित नम्बर १ बराह बाहिनी मुख्यालय (सुनसरी) का प्रहरी नायव महानिरीक्षक (बाहिनीपति) मनिष थापाले सीमा क्षेत्रको निरीक्षण थालेका छन् ।
मोरङका सुरक्षा पोष्ट तथा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीको निरीक्षण गरेका हुन् । बाहिनीपति थापाका अनुसार चाडपर्वमा नेपाल–भारत सीमाबाट हुनसक्ने संभावित अपराध नियन्त्रण गर्ने कुरामा चासो मात्रै नभई चाडपर्व मनाउन आवातजावत गर्ने नागरिकको सहजीकरण गर्ने विषय समेत निरीक्षण र अनुगमनमा राखिएको छ । उनका अनुसार मुख्य सीमा नाकामा हेल्पडेस्क राख्ने र भारतबाट चाडपर्व मनाउन भित्रने नेपाली नागरिकका लागि सहजीकरण गरिनेछ ।
त्यस बाहेक भारतको सीमा सुरक्षा बलसँग समेत समन्वय गरेर अपराधजन्य घटना नियन्त्रणमा दुईदेशबीचको सहयोग आदानप्रदान गर्नेसम्मको उद्देश्य राखिएको थापाले जानकारी दिनुभयो ।
सीमा अपराध, चोरी–तस्करी तथा अवैध सामानको ओसारपसार नियन्त्रणका लागि नियमित गस्तीलाई प्रभावकारी बनाउन र शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी राख्न उनले मातहतका युनिटलाई निर्देशन दिएको थापाले जानकारी दिएका छन् । उनले खुल्ला सीमा क्षेत्रको प्रयोग गरेर हुनसक्ने संभावित अपराध नियन्त्रणलाई बढी केन्द्रमा राखिने बताएका छन् ।