विराटनगर । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा महिलालाई स्तन स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले विराट नर्सिङ होममा भोलि (अक्टोबर १५) स्तन क्यान्सर सचेतना कार्यक्रम आयोजना हुने भएको छ। ‘पिंक अक्टोबर’ अभियानअन्तर्गत आयोजना हुने कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रममा स्तन स्वास्थ्य, स्तन क्यान्सरको पहिचान तथा समयमै विशेषज्ञ परामर्श लिनुको महत्त्वबारे जानकारी दिइनेछ।
कार्यक्रमका अवसरमा स्तन क्यान्सरसम्बन्धी विशेषज्ञ चिकित्सक डा. योशिका भट्टराईबाट निःशुल्क परामर्श सेवा पनि उपलब्ध गराइनेछ। उक्त सेवा कार्यक्रमपछि प्रत्येक बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म विराट नर्सिङ होममा नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। स्तनमा गाँठो देखिनु, आकार वा छालामा परिवर्तन आउनु तथा मुन्टोबाट असामान्य स्राव हुनुजस्ता लक्षण देखिएमा बेवास्ता नगरी चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ। यस्ता लक्षण देखिँदैमा क्यान्सर नै भएको भन्ने हुँदैन। तर, समयमै परीक्षण र विशेषज्ञको परामर्शले रोग पहिचान तथा उपचारमा सहयोग पुर्याउन सक्छ।
अभियानअन्तर्गत स्तन स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्न स्तनको अल्ट्रासाउन्ड (ब्रेस्ट यूएसजी), म्यामोग्राफी लगायतका परीक्षण समेटिएको प्याकेजमा विशेष छुटको व्यवस्था गरिएको छ। नियमित ४ हजार ८ सय रुपैयाँ पर्ने उक्त प्याकेज विशेष छुटमा २ हजार ८ सय रुपैयाँमा उपलब्ध हुने जनाइएको छ। स्तन क्यान्सरको समयमै पहिचान तथा स्तन स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न चाहने महिलालाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ। साथै, विशेषज्ञसँग परामर्श लिन चाहनेले प्रत्येक बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उपलब्ध हुने निःशुल्क परामर्श सेवाको लाभ लिन सक्नेछन्। कार्यक्रमलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरी क्लब अफ विराटनगर जेमिनीले सहयोग गरेका छन्।