काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । वर्ष दिनपछि परिवारसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने आशासहित धेरैजना आफ्नो गाउँ फर्किरहेका छन् ।
तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँगी र पारिवारिक जिम्मेवारीका कारण कतिपयका लागि दसैँ खुसीसँगै पीडा र बाध्यताको पर्व पनि बनेको छ । वर्ष दिनपछि गाउँ फर्किनेहरूका अनुभव र दसैँप्रतिको दृष्टिकोण फरक–फरक छन् । कसैलाई बाल्यकालको दसैँको सम्झनाले तानिरहेको छ भने कसैलाई घरमा पर्खिरहेका वृद्ध आमाबुबासँग भेट्ने चाहनाले गाउँ पुर्याइरहेको छ । कतिपय भने मनमा दुःख बोकेरै भए पनि वर्ष दिनमा आउने चाड मनाउन गाउँ फर्किन बाध्य छन् ।
एक वर्षपछि घर फर्किँदै, जिम्मेवारी थपिँदै
स्कुल बसमा काम गर्ने भुपेस तामाङ एक वर्षपछि घर फर्किँदै छन् । दसैँ नजिकिँदा उनलाई सबैभन्दा बढी आमाबुबा र दिदीबहिनीको सम्झना आउँछ । बाल्यकालमा दसैँको जिम्मेवारी बुबाआमाले सम्हाल्ने गरेपनि अहिले आफैँले जिम्मेवारी लिनुपर्दा दसैँको अनुभव बदलिएको उनको भनाइ छ । ‘दसैँ भन्नेबित्तिकै आमाबुबा र दिदीबहिनीहरूको याद आउँछ, घरको याद आउँछ,’ उनी भन्छन्, ‘पहिले बुबाआमाले जिम्मेवारी सम्हाल्नुहुन्थ्यो । अहिले आफैँले जिम्मेवारी लिनुपर्दा धेरै फरक महसुस हुँदो रहेछ ।’
आर्थिक गतिविधिमा आएको मन्दीले आफूहरूलाई पनि असर गरेको तामाङ बताउँछन् । व्यापार–व्यवसायमा देखिएको सुस्तताका कारण पहिलेको जस्तो उत्साह र चहलपहल नरहेको उनको अनुभव छ । विगतका वर्षमा दसैँको समयमा बसपार्कमा देखिने रौनक यसपालि कम भएको उनी बताउँछन् । यद्यपि, उनी दसैँलाई परिवारसँग भेटघाट गर्ने र खुसी साट्ने अवसरका रूपमा लिन्छन् । उनले आमाबुबा, दिदीबहिनी तथा सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना दिएका छन् ।
बाल्यकालको दसैँ सम्झँदै सुनिता
सिन्धुपाल्चोककी सुनिता सापकोटा पनि झन्डै एक वर्षपछि दसैँ मनाउन गाउँ फर्किँदै छिन् । काठमाडौँमा डेरा गरेर बस्दै आएकी उनलाई दसैँमा गाउँ पुगेर बुबाआमासँग भेटघाट गर्ने अवसरले खुसी दिएको छ । तर, बाल्यकालको दसैँ र अहिलेको दसैँमा धेरै अन्तर रहेको उनको अनुभव छ । पहिले दसैँमा हुने रमाइलो, साथीभाइसँगको भेटघाट र पिङ खेलेका क्षण अहिले पनि उनको सम्झनामा ताजा छन् । ‘दसैँ भन्नेबित्तिकै पिङ खेल्ने, साथीहरूसँग गफ गर्ने र सँगै बसेर रमाइलो गर्ने कुरा याद आउँछ,’ उनी भन्छिन् । अहिले भने जिम्मेवारी बढेको र परिस्थितिसमेत बदलिएकाले पहिलेको जस्तो खुसी महसुस नभएको उनी बताउँछिन् । देशमा अहिले आएको विपद्को अवस्थाका कारण दसैँ मनाउन नसक्ने र विभिन्न समस्यामा परेका मानिसहरू पनि रहेको उनको बुझाइ छ । यसपालि उनको दसैँको योजना आफन्तको घरमा जाने, भेटघाट गर्ने र परिवारसँग समय बिताउनेमा सीमित छ । पहिलेको जस्तो रमाइलो नभए पनि परिवारसँग भेट्ने अवसरलाई उनी महत्त्वपूर्ण मान्छिन् ।
छोरीदेखि बुहारीसम्म, दसैँको अर्थ बदलिँदै
एक वर्षपछि गाउँ फर्किँदै गरेकी जुना मिजारका लागि दसैँ परिवारसँग बसेर मनाउने पर्व हो । गाउँका सबैजनालाई सम्झँदै उनी यसपालि परिवारसँगै बसेर टीका लगाउने र रमाइलो गर्ने योजनामा छिन् । सानी छोरी भएकाले टाढा घुम्न जाने योजना भने छैन । यात्राका लागि टिकट पाएको र बाटो पनि राम्रै रहेको जानकारी पाएकाले उनी गाउँ फर्किन लागेकी हुन् । मिजारका लागि दसैँको अर्थ समयसँगै बदलिएको छ । बाल्यकालमा दसैँ कहिले आउला भनेर दिन गन्दै बस्ने गरेको सम्झना उनलाई अहिले पनि छ । ‘पहिला दसैँ कहिले आउँछ भनेर दिन गनेर बसिन्थ्यो । बुबा, दाजुहरू काठमाडौँबाट घर कहिले आउनुहुन्छ भनेर पर्खिन्थ्यौँ,’ उनी भन्छिन् । समयसँगै छोरीबाट बुहारी बनेपछि दसैँ मनाउने तरिका र जिम्मेवारी पनि बदलिएको उनको अनुभव छ । विवाहपछि परिवार र जिम्मेवारी थपिँदा बाल्यकालको जस्तो स्वतन्त्र रमाइलो गर्न नसकिने उनी बताउँछिन् । परिवारबाट टाढा विदेशमा रहेका नेपालीहरूको पीडा पनि उनले महसुस गरेकी छन् । बाध्यताले विदेशिनुपरेका नेपालीलाई जहाँ भए पनि खुसीसाथ दसैँ मनाउन उनी शुभकामना दिन्छिन् ।
शोक र बाध्यताबीच दसैँ मनाउन गाउँ फर्किँदै
दोलखाको शैलुङ गाउँपालिकाकी स्मृति बुढाथोकी पनि गाउँ फर्किँदै छिन् । उनले यात्राका लागि एक महिनाअघि नै टिकट लिएकी थिइन् । दसैँमा गाउँ जानुपर्ने पारिवारिक बाध्यता भए पनि यस वर्षको परिस्थितिले उनलाई पहिलेको जस्तो खुसी दिएको छैन ।देशमा बाढीपहिरोका घटना र विभिन्न दुःखद घटनाका कारण दसैँको उल्लास कम भएको उनको भनाइ छ । यस्तो अवस्थामा दसैँ मनाउनुभन्दा शोकमा परेका परिवारको पीडा सम्झनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । तर, घरमा वृद्ध बुबा भएकाले गाउँ फर्किनुपर्ने उनको बाध्यता छ । ‘दसैँ त नमनाउँदा पनि हुने हो, देशमा यस्तो शोक परेको बेला नजानु नै राम्रो हुन्थ्यो । तर घरमा बुबा हुनुहुन्छ, त्यसैले जानैपर्ने भयो,’ उनी भन्छिन् । गाउँ पुगेपछि घर लिपपोत गर्ने, परिवारसँग बस्ने, टीका लगाउने र पिङ खेलेर रमाइलो गर्ने उनको योजना छ । टाढा घुम्न जाने वा अनावश्यक खर्च गर्ने सोच भने छैन । बुढाथोकी दसैँमा आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गर्नुपर्ने बताउँछिन् । अरूलाई देखाउनकै लागि खर्च बढाउनुभन्दा आफ्नो क्षमताअनुसार चाड मनाउनु उचित हुने उनको सुझाव छ ।
महँगो टिकट र पारिवारिक जिम्मेवारी
आकाश विश्वकर्माका लागि दसैँ भनेको गाउँघरको सम्झना, परिवारसँगको भेटघाट र बाल्यकालको रमाइलो पुनः अनुभव गर्ने अवसर हो । घरमा आमाहरू छोराछोरी आउने प्रतीक्षामा रहेको सम्झँदै उनी बालबालिकासहित गाउँ फर्किँदै छन् । ‘घरमा आमाहरू हुनुहुन्छ, छोराहरू आउँछन् भनेर पर्खेर बस्नुभएको छ । वर्ष दिनमा आउने चाड भएकाले गाउँ जानैपर्याे,’ उनी भन्छन् । तर, यसपालि गाउँ फर्किन सहज छैन । सवारीसाधनमा चाप बढेको, टिकट पाउन कठिन भएको र भाडासमेत महँगिएको उनको गुनासो छ । पहिले ३५०–४०० रुपैयाँ पर्ने टिकट अहिले ५०० रुपैयाँभन्दा कममा पाउन कठिन भएको उनी बताउँछन् ।यात्रा महँगो भए पनि परिवारसँग दसैँ मनाउने चाहनाले उनलाई गाउँ जान प्रेरित गरेको छ । बालबालिकालाई गाउँ लैजाने, परिवारसँग बस्ने र वर्ष दिनको चाड मनाउने उनको योजना छ । तर, यस वर्षको दसैँमा उनलाई व्यक्तिगत खुसीभन्दा बढी देशमा भइरहेका दुःखद घटनाले पिरोलेको छ । विशेषगरी रसुवा र केरुङ क्षेत्रका बाढीपहिरोका घटनाले प्रभावित परिवारको पीडा सम्झँदा दसैँको खुसी अपूरो लागेको उनी बताउँछन् । कमाउनका लागि घरबाट टाढा गएका कतिपय नेपाली विपद्मा परेका र उनीहरूका परिवार अहिले पनि प्रियजनको प्रतीक्षामा रहेको सम्झँदा आफूलाई दुःख लाग्ने उनको भनाइ छ । ‘कति जना श्रीमान् कमाएर फर्किनुहुन्छ भनेर घरपरिवार कुरिबसेका थिए । तर, बाढीपहिरोले परिवारमा दुःख निम्त्याएको छ,’ उनी भन्छन् । विश्वकर्मा धनी र गरिब सबैले आ–आफ्नो अवस्थाअनुसार दसैँ मनाउने गरेको बताउँछन् । दुःख–सुख जे भए पनि नेपालीहरू आफ्नो क्षमताअनुसार चाड मनाउन जुट्ने उनको अनुभव छ । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामनासहित विजया दशमीको शुभकामना दिएका छन् ।
दसैँ उही, अनुभूति फरक
दसैँ नेपालीहरूको प्रमुख चाड हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने, टीका–जमरा लगाउने र आफन्तसँग खुसी साट्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । यही अवसरमा रोजगारी, अध्ययन तथा विभिन्न बाध्यताले सहरमा बस्दै आएका मानिस गाउँ फर्किने गर्छन् । तर, समयसँगै दसैँ मनाउने शैली र अनुभूतिमा परिवर्तन आएको छ । बाल्यकालमा दसैँको प्रतीक्षा गर्नेहरू अहिले परिवार र आर्थिक जिम्मेवारी सम्हालिरहेका छन् । पहिले रमाइलोका लागि गाउँ फर्किनेहरू अहिले वृद्ध आमाबुबाको हेरचाह र पारिवारिक दायित्व पूरा गर्न गाउँ पुगिरहेका छन् । यस वर्ष बाढीपहिरो तथा अन्य दुःखद घटनाले प्रभावित परिवारका लागि दसैँको खुसी अझै अपूरो छ । रोजगारी र आर्थिक समस्याका कारण कतिपयलाई चाड मनाउनसमेत कठिन भइरहेको छ । यातायातको चाप र महँगो भाडाले गाउँ फर्किने यात्रुको यात्रा पनि सहज छैन । तैपनि, परिवारसँग भेट्ने चाहना, गाउँघरको सम्झना र वर्ष दिनमा आउने चाड मनाउने परम्पराले मानिसहरूलाई गाउँतर्फ डोर्याइरहेको छ । कसैका लागि दसैँ बाल्यकालको सम्झना हो, कसैका लागि पारिवारिक जिम्मेवारी र कसैका लागि दुःखबीच खुसी खोज्ने प्रयास । अन्ततः दसैँको वास्तविक खुसी महँगो किनमेल वा तडकभडकमा मात्र सीमित छैन । परिवारसँगको भेटघाट, आपसी सद्भाव, दुःखमा परेकाप्रति सहानुभूति र आफ्नो क्षमताअनुसार चाड मनाउनु नै यस पर्वको महत्त्वपूर्ण पक्ष हो । यस वर्ष गाउँ फर्किरहेका यात्रुका अनुभवले पनि दसैँको रौनकसँगै नेपाली समाजले भोगिरहेका आर्थिक, सामाजिक र मानवीय चुनौतीलाई उजागर गरेका छन् ।