सोनु साह
विराटनगर । मोरङको विराटनगरस्थित ऐतिहासिक काली मन्दिरबाट सुरु हुने निशान ध्वजा यात्रा यस वर्ष दसौँ चरणमा प्रवेश गरेको छ। विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यात्रा २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमीका दिन सञ्चालन हुने भएको छ।
आयोजकका अनुसार विराटनगरको जलजला रोडस्थित काली मन्दिरबाट बिहान ६ बजे सुरु हुने यात्रा मोरङको रंगेलीस्थित काली मन्दिरमा पुगेर सम्पन्न हुनेछ। करिब २२ किलोमिटर लामो यात्रामा यस वर्ष ८ हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजक समितिका संयोजक मनोज अग्रवालले जानकारी दिए।
यात्रामा सहभागी भक्तजनले हातमा निशान ध्वजा बोकेर माता रानीप्रतिको आस्था, विश्वास र श्रद्धा व्यक्त गर्दै पैदल यात्रा गर्नेछन्। सुरुवाती वर्षमा चारदेखि पाँच सय जनाको सहभागिताबाट सुरु भएको यात्रा अहिले हजारौँ भक्तजनको सहभागितामा धार्मिक आस्था र एकताको उत्सवका रूपमा विकसित भएको अग्रवालले बताए।
उनका अनुसार निशान ध्वजा यात्रा धार्मिक कार्यक्रम मात्र नभई माता रानीप्रतिको अटुट आस्था, समर्पण र भक्तिको प्रतीकसमेत हो। हरेक वर्ष भक्तजनको सहभागिता बढ्दै जानुले यात्राप्रतिको धार्मिक विश्वास र आकर्षण विस्तार हुँदै गएको उनले बताए।
यात्रालाई व्यवस्थित र सफल बनाउन आयोजक समितिले विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाएको छ। भक्तजनको सहजताका लागि बाटोमा विश्राम, स्वास्थ्य सेवा, यातायात व्यवस्थापन तथा प्रसाद वितरणलगायतका व्यवस्था मिलाइने आयोजकले जनाएको छ।
आयोजक समितिले यात्रालाई सफल बनाउन स्थानीय सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, सामाजिक संघसंस्था, युवा, महिला तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ। महानवमीका दिन आयोजना हुने यस धार्मिक यात्राले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव, धार्मिक एकता र आपसी भाइचारालाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।