विराटनगर । बडादसैँको सातौँ दिन महासप्तमीका अवसरमा मोरङका विभिन्न शक्तिपीठ तथा भगवती मन्दिरमा शनिबार परम्परागत विधिअनुसार फूलपाती भित्र्याउँदै बढाइँ गरिएको छ। विराटनगरस्थित ऐतिहासिक काली मन्दिर र रंगेलीस्थित संसारीमाई भगवती मन्दिरमा डोलीसहित बजार परिक्रमा गरी विशेष पूजाआराधना र सलामी अर्पणसहित फूलपाती बढाइँ सम्पन्न गरिएको हो।

विराटनगरको मेनरोडस्थित काली मन्दिर र रंगेलीको संसारीमाई मन्दिरबाट बिहान ९ बजे फूलपातीको डोली निकालिएको थियो। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उपस्थितिमा सलामी अर्पण गरिएको थियो।


बडादसैँको सातौँ दिन मनाइने फूलपाती पर्वमा नवदुर्गा भवानीको प्रतीकका रूपमा विभिन्न वनस्पति भित्र्याउने धार्मिक परम्परा छ। यस अवसरमा मन्दिर परिसरमा भेला भएका भक्तजनले पूजाआजा गर्दै देवी भगवतीको आराधना गरेका थिए। सुरक्षा निकायको सहभागितामा दिइने सलामीले पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको थियो।

संसारीमाई पूजा समारोह समितिका अनुसार यस वर्ष रंगेलीमा चार सयभन्दा बढी कलश, विभिन्न धार्मिक झाँकी र हजारौँ भक्तजनको सहभागिता रहेको थियो। समितिका प्रतिनिधिले प्रत्येक वर्ष संसारीमाई मन्दिरमा प्रदेशस्तरीय सलामीसहित फूलपाती भित्र्याउने परम्परा रहेको बताए।


फूलपातीका अवसरमा अशोक, केरा, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दाडिम र मानेसहित नौ प्रकारका वनस्पति डोलीमा राखेर विशेष पूजाआराधना गर्ने चलन रहेको छ।
फूलपाती बढाइँका क्रममा विभिन्न समुदायको परम्परागत पहिरनमा सजिएका सहभागी, धार्मिक झाँकी, बाजागाजा, नेपाल स्काउट, विद्यालयका विद्यार्थी, विभिन्न पेसाकर्मी, संघसंस्थाका प्रतिनिधि तथा राजनीतिक दलका व्यक्तिहरूको सहभागिता थियो।

रंगेलीस्थित संसारीमाई मन्दिरमा फूलपाती बढाइँ अवलोकन गर्न विभिन्न गाउँबाट आएका श्रद्धालुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानीयवासी सहभागी भएका थिए।