फुङलिङ । ताप्लेजुङको पाथीभरा मन्दिरबाट तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपियाँ भेटी सङ्कलन भएको हो।
पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । समितिको कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा तीन लाख १८ हजार ५ सय रुपियाँ, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपियाँ भेटी दर्शनार्थीले पाथीभरा चढाएका छन्।
समितिका अनुसार यही अवधिमा २० हजार ५२२ जना भक्तजन पाथीभरा दर्शनका लागि पुगेका छन् । साउनमा दुई हजार ४६९, भदौमा छ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थयात्रीले मन्दिर दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीर्थयात्रीको सङ्ख्या घटेको छ । गत वर्षको साउनदेखि असोजसम्म ५४ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो । यस वर्षमा गत वर्षभन्दा झण्डै २१ लाख रुपियाँ कम भेटी उठेको छ । दर्शनार्थी समेत घटेका छन् । गत वर्षको सोही अवधिमा झण्डै ३६ हजार जना तीर्थयात्री आएका थिए । भोटेकोशीमा आएको बाढी लगायतका कारण तीर्थयात्रीको सङ्ख्यामा कमी आएको समितिले जनाएको छ।