विराटनगरका चोक-चोकमा देवी आराधना र झिलिमिली रौनक

<span class='c1'>विराटनगरका चोक-चोकमा देवी आराधना</span> <span class='c2'>र झिलिमिली रौनक</span>

सोनु साह
विराटनगर । दसैँको उल्लाससँगै विराटनगर सहर यतिबेला दुलहीझैँ सिँगारिएको छ। सहरका विभिन्न वडामा आकर्षक पण्डाल निर्माण गरी दुर्गा भवानीको पूजा–आराधना धुमधामका साथ भइरहेको छ। रंगीबिरंगी बत्ती, कलात्मक सजावट र देवीदेवताका आकर्षक प्रतिमाले विराटनगरको रौनक थप बढाएको छ।


दसैँको नवदुर्गा अवधिमा विशेषगरी सप्तमीदेखि दुर्गा भवानीको पूजा–आराधनालाई विशेष महत्त्वका साथ मनाउने परम्परा छ। विराटनगरका विभिन्न टोल, बस्ती र चोकमा स्थानीयवासीले सामूहिक रूपमा दुर्गा पूजा आयोजना गरेका छन्। आकर्षक पण्डालभित्र दुर्गा भवानीसहित विभिन्न देवीदेवताका प्रतिमा स्थापना गरी विधिपूर्वक पूजापाठ भइरहेको छ।

सप्तमीका दिन फूलपाती भित्र्याएपछि देवी दुर्गाको प्रतिमामा नेत्र खोल्ने अर्थात् आँखा अनावरण गर्ने परम्परा रहेको छ। त्यसपछि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजापाठ गरिन्छ। यस वर्ष तिथिका कारण दुई दिन अष्टमी परेकाले पनि दुर्गा पूजाको उल्लास थपिएको छ।


विराटनगरको काली मन्दिर, ट्राफिक चोक, कोशी प्रोजेक्ट, सरौचिया टोल, दुर्गा चोकलगायत विभिन्न स्थानमा भव्य पण्डाल निर्माण गरी पूजा–आराधना भइरहेको छ। पण्डालको आकर्षक सजावट र झिलिमिली बत्तीले सहरका मुख्य चोक तथा बस्तीहरूलाई थप मनमोहक बनाएका छन्।


दुर्गा भवानीको दर्शन गर्न विभिन्न स्थानबाट भक्तजन तथा सर्वसाधारणको भीड लाग्ने गरेको छ। पूजा स्थलहरूमा भजनकीर्तन, नाचगान, झाँकी तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना भइरहेका छन्। साँझपख बत्तीले झकिझकाउ बनेका पण्डाल र देवीदेवताको दर्शन गर्न आउने भक्तजनका कारण सहरमा चहलपहल बढेको छ।


स्थानीयवासीले समिति गठन गरेर चन्दा संकलन, सहयोग तथा विभिन्न स्रोत जुटाउँदै दुर्गा पूजा आयोजना गर्ने गरेका छन्। अधिकांश स्थानमा सामूहिक सहभागितामा पूजा सञ्चालन गरिएको छ। यसले धार्मिक आस्था र परम्पराको संरक्षणसँगै स्थानीय समुदायबीच आपसी सद्भाव र एकतालाई समेत बलियो बनाएको छ।

विजयादशमीसम्म विभिन्न पूजा स्थलमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम र मेलासमेत सञ्चालन हुने भएकाले विराटनगरमा दसैँको रौनक अझै बढ्ने देखिन्छ। दुर्गा पूजाका लागि निर्माण गरिएका आकर्षक पण्डाल, झिलिमिली बत्ती र भक्तजनको चहलपहलले यतिबेला विराटनगरलाई उत्सवमय बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्