काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि भित्र्याउने पहल भइरहेको बताएका थिए। त्यसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षणसमेत सम्पन्न भएको र त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने उनले बताएका थिए।
डीआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। अम्पायरको निर्णयप्रति असन्तुष्ट भएमा नियमअनुसार सम्बन्धित टोलीले रिभ्यू लिन सक्छन्। यसबाट गलत निर्णय सच्याउन र खेललाई थप निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिन्छ।
क्यानका अनुसार एनपीएलमा एलबीडब्ल्यू (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकनका लागि पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि रिभ्यू गर्न सकिनेछ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट ब्याटमा बल लागेको वा नलागेको पत्ता लगाउन एज डिटेक्सन प्रविधि प्रयोग गरिनेछ। हाइटसम्बन्धी वाइड बलको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङसम्बन्धी तथ्यांकसमेत उपलब्ध हुने जनाइएको छ।
डीआरएस प्रविधिको प्रयोगले एनपीएलमा अम्पायरिङको गुणस्तर सुधार गर्न, विवादास्पद निर्णयको संख्या घटाउन र खेललाई थप प्रतिस्पर्धात्मक तथा विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।