रबिन्द्र बराल
विराटनगर । मोरङको रङ्गेलीमा विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको दसौँ निशान यात्रा यस वर्ष पनि भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। महानवमीका दिन विराटनगरस्थित काली मन्दिरबाट सुरु भएको निशान यात्रा करिब २४ किलोमिटरको पैदल दूरी पार गर्दै रङ्गेलीस्थित ऐतिहासिक काली मन्दिरमा पुगेर सम्पन्न भएको हो।

यस वर्षको निशान यात्रामा करिब ८ हजारदेखि १० हजारसम्म श्रद्धालु भक्तजन सहभागी भएको आयोजकले जनाएको छ। सुरुवाती वर्षहरूमा करिब १०० देखि १५० जनाको सहभागिताबाट सुरु भएको यस यात्रामा पछिल्ला वर्षहरूमा भक्तजनको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।
विराटनगरस्थित काली मन्दिरबाट निशान ध्वजा बोकेर सुरु भएको यात्रा कटहरी, जहदा र धनपालथान हुँदै रङ्गेलीस्थित ऐतिहासिक काली मन्दिर पुगेको थियो। मन्दिरको प्राङ्गणमा निशान ध्वजा चढाएपछि धार्मिक परम्पराअनुसार यात्रा सम्पन्न गरिएको हो।
यात्रामा सहभागी भक्तजनले खाली खुट्टा तथा केहीले कपडाका जुत्ता लगाएर निशान ध्वजा बोकी पैदल यात्रा गरेका थिए। धार्मिक आस्था र श्रद्धासँग जोडिएको यस यात्रामा विभिन्न उमेर समूहका भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो।


यात्राका क्रममा भक्तजनको सहजताका लागि विभिन्न स्थानमा पानी, फलफूल तथा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको थियो। यात्रालाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको आयोजकले जनाएको छ।
निशान यात्रा मूल समितिका संयोजक मनोज अग्रवालले यात्रा सफल बनाउन सहयोग गर्ने व्यवसायी, उद्यमी, समाजसेवी तथा सम्पूर्ण श्रद्धालु भक्तजनप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले सबैको सहयोग र सहभागिताले यात्रालाई थप व्यवस्थित, भव्य र सफल बनाउन सहयोग पुगेको बताए।

विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निशान यात्राले विराटनगर र रङ्गेलीबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक आस्था र सामाजिक सद्भाव प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ।