लेटाङ । हिरासतमा रहेका व्यक्तिहरूको सोच, आचरण तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयले सञ्चालन गरेको ‘थुनुवाहरूलाई हात-हातमा किताब’ अभियानअन्तर्गत २९२ थान पुस्तक संकलन भएको छ।



इलाका प्रहरी कार्यालय, लेटाङमा स्थापना गरिएको हिरासत पुस्तकालय (कस्टडी लाइब्रेरी) का लागि विभिन्न व्यक्तित्व, संघसंस्था तथा सञ्चारकर्मीहरूले पुस्तक सहयोग गरेका हुन्।
हिरासतमा रहेका व्यक्तिहरूमा पठन संस्कृतिको विकास गर्ने, सकारात्मक सोच अभिवृद्धि गर्ने, आत्मचिन्तन तथा नैतिक चेतना बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुस्तकालयमार्फत हिरासतमा रहेका व्यक्तिहरूले फुर्सदको समय सदुपयोग गर्दै ज्ञान, शिक्षा र सकारात्मक विचार प्राप्त गर्ने अवसर पाउने विश्वास गरिएको छ।


अभियानअन्तर्गत पूर्वसांसद घनश्याम खतिवडाले सबैभन्दा बढी ६२ थान पुस्तक सहयोग गरेका छन्। त्यस्तै, पूर्वमन्त्री उपेन्द्र घिमिरेले ४३, खगेन्द्र घिमिरेले २७, श्यामकुमार श्रेष्ठले २२, प्रमुख सेनानी सुरज कार्कीले १६ तथा लेटाङका सञ्चारकर्मीहरूले १६ थान पुस्तक सहयोग गरेका छन्।
यसैगरी, ईश्वर शाक्यले १५, सावधान युवा समूहले १४, शान्ति प्राख्रिन लामाले ११, विद्यादेवी लामिछानेले ११, पूर्वमेयर शंकर राईले ११, लिटल प्वार्स बोर्डिङ स्कुलले १० र सुनिल चौधरीले १० थान पुस्तक सहयोग गरेका छन्।
त्यस्तै, सीता श्रेष्ठले आठ, भक्तबहादुर सुवेदीले सात, नन्दप्रसाद खतिवडाले छ, ललितबहादुर लिम्बूले दुई तथा शान्तिकला राईले एक थान पुस्तक सहयोग गरेका छन्।


इलाका प्रहरी कार्यालयका प्रमुख ईन्सपेक्टर सागर साहका अनुसार पुस्तकालय स्थापनाले हिरासतमा रहेका व्यक्तिहरूलाई अध्ययनमार्फत सकारात्मक सोच विकास गर्न तथा आफ्नो व्यवहारबारे आत्ममूल्यांकन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुस्तकले उनीहरूमा ज्ञान र चेतना अभिवृद्धि गर्दै भविष्यमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने विश्वास लिइएको बताए ।
अभियानमा पुस्तक सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, संघसंस्था तथा सञ्चारकर्मीहरूप्रति इलाका प्रहरी कार्यालय, लेटाङले आभार व्यक्त गरेको छ।
‘पुस्तकले सोच बदल्छ, सोचले व्यवहार बदल्छ’ भन्ने सन्देशसहित अघि बढाइएको यो अभियानले हिरासतलाई केवल नियन्त्रणको स्थान नभई सिकाइ, आत्मचिन्तन र सुधारको अवसरका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।