विराटनगर । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजना हुने १००औँ श्री हनुमान महोत्सवमा सहभागी हुन विराटनगरका चुन्नु गुप्ता र सुशील अग्रवालले पैदल ध्वजा यात्रा सुरु गरेका छन्।
उनीहरूले विराटनगरको रानीस्थित हनुमान मन्दिरबाट सिलिगुडीस्थित श्री पञ्चमुखी हनुमान मन्दिरसम्म धार्मिक ध्वजा पुर्याउने उद्देश्यले यात्रा सुरु गरेका हुन्।
श्री पञ्चमुखी बालाजी धामको ५० वर्ष पूरा भएको अवसरमा अक्टोबर २५ देखि २९ तारिखसम्म पाँचदिने महोत्सव आयोजना हुँदैछ। महोत्सवको उद्घाटन अक्टोबर २५ आइतबार बिहान ११ बजे मन्दिर परिसरमा हुने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का श्यामा चरण राय, दार्जिलिङका सांसद राजु बिष्ट, पश्चिम बंगालका पर्यटनमन्त्री डा. शंकर घोष तथा विश्व हिन्दू परिषद्का प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
महोत्सवको समापन महाप्रसाद वितरणसँगै गरिनेछ। विराटनगरबाट सुरु भएको गुप्ता र अग्रवालको पैदल ध्वजा यात्राले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सीमापार धार्मिक सद्भावको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।