सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक भारतको बनारस घर भएका लालजी प्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले आइतबार बिहान खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै एसपी पुष्पराज मल्ल सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार प्रहरीले बिहान करिब १० बजे घटनाबारे जानकारी पाएको थियो। मृतक गुप्ता भारतको बनारसका बासिन्दा भए पनि विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमै बस्दै आएको मल्लले जानकारी दिए।
मृतकको शवसँग नेपाली नागरिकतासमेत फेला परेको एसपी मल्लले बताए। उनका अनुसार शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। शव बोराभित्र हालिएको अवस्थामा फेला परेकाले घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।