विराटनगर । गत असोज ३१ गते बिहान मटेर्वा नाका नजिक भारतीय नम्बर प्लेटको कार रोकिरहेको सूचना सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा पुग्यो । बिहान ४ बजेर २८ मिनेट जाँदा मस्जिद नजिकै रहेको कार सशस्त्र प्रहरीको टोलि पुगेपछि भगाइयो । बीआर ३८ एपी ८२८६ नम्बरको भगाइएपछि सशस्त्र प्रहरीले दिनभर सीमा क्षेत्रमा निगरानी बढायो । मोरङमा मात्रै नभई झापा र सुनसरीसँग समेत समन्वय गरिएको थियो ।
नम्बर ३ गण हेडक्वाटर कंकालिनीका गणपति (एसपी) गेहेन्द्र बहादुर भण्डारीका अनुसार दिनभर हराएको गाडी दिउँसो ३ः५० मा एक नम्बर ढाट पुग्यो । त्यहाँ पुग्दा नेपालबाट भारत फर्कदै गरेको छुट पूर्जी भन्सारले जारी गरिदिएको थियो । तर, नेपाल प्रवेश गर्दा भारतको सीमा सुरक्षा बल एसएसबी र नेपाल प्रवेश गर्दा नेपालका सशस्त्र प्रहरी बलको कुनैपनि चेकपोष्टको लकबुकमा त्यसको रेकर्ड भेटिएको छैन । एसपी भण्डारीका अनुसार नेपाल र भारतको सीमा पार गरेको कुनैपनि रेकर्ड नभएको गाडी नेपाली भूमिमा दिनभर बसेर साँझ फर्कने बेला भने भन्सारले ट्याक्क छुट पूर्जी जारी गरिदिएको हो । यो कार्यमा भन्सार कार्यालयका कर्मचारीको नियतमाथि प्रश्न गर्ने ठाउँ समेत देखिएको छ ।
विराटनगर भन्सार कार्यालयले मो.हजरत अलीको नाममा रहेको उक्त गाडीको विवरण खुलाएर सवारी साधनको अस्थायी पैठारी अनुमति दिएको छ । जसको क्षेत्र विराटनगर महानगरपालिका भित्र मात्रै रहेको छ । त्यस अनुसार स्थानीय सरकारलाई बुझाउने पूर्वाधार उपयोग कर र प्रदेश सरकारलाई बुझाउने पटके कर समेत बुझाइएको रसिद गाडीवालासँग रहेको छ ।
भारतीय नम्बर प्लेट भएको गाडी प्रवेश लिदाँ मो.हजरत अलीको नाममा भएपनि पटके कर बुझाउँदा भने सुरेशकुमार यादवको नाम उल्लेख गरिएको छ । यस अगाडी भदौ ५ गते विराटनगर–१४ स्थित सुरेश कुमार यादवको घरमा सशस्त्र प्रहरीले छापा हानेको थियो । त्यसबेला समेत उक्त गाडी यादवको घर भित्रै पार्किङ रहेको थियो । गाडी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भन्सारको कागजात तत्काल बनाएर देखाइएको थियो । सशस्त्रका एसपी भण्डारीका अनुसार भारतीय नम्बर प्लेटको गाडी अस्थायी अनुमति लिएर व्यक्तिगत रुपमा सीमा क्षेत्रमा राख्ने अनि त्यसको बलमा तस्करी गर्नेहरुका कारण सीमा सुरक्षा चासो बढ्दै गएको छ । यसरी राखिएका गाडीबाट हुने दुर्घटनादेखि लागुऔषध तथा अन्य वस्तुको ओसारपसारले अपराधलाई समेत बढाउँदै लगेको छ ।
यस अगाडी सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१५ चौधरी टोलबाट ओम साहको दुईवटा गाडी नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो । ती गाडीको अस्थायी अनुमति समेत थिएन । यसैगरी छुट पूर्जी समेत थिएन ।
सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले बीआर ११ डब्लू ३३०७ नम्बरको महिन्द्रा स्कोर्पियो र बीआर ०७ एई ६५८४ नम्बरको केटीएम ड्युक ३९० सीसी मोटरसाइकल नियन्त्रणमा लिएपछि नियमानुसार भन्सार बुझाइएको थियो । संयोग के छ भने, सुरेशकुमार यादव र ओम साह दुवै सीमा क्षेत्रबाट अवैध रुपमा सामान भित्र्याउँदै व्पापार गर्ने आरोपित हुन् । सुरेशसँग अर्का पार्टनर सवनम समेत छिन् । सीमा क्षेत्रमा सुरेशसवनम नामले हुने कारोबार निक्कै चर्चामा रहेको छ ।
गाडी सशस्त्रले लिएपनि यसको चाबी भने सुरेश आफैंले राखेका छन् । त्यहि भएर भन्सार बुझाउन सशस्त्रलाई गाह्रो परिरहेको छ । एसपी भण्डारीका अनुसार यो गाडीको अहिलेसम्म तीन पटक मात्रै भन्सारबाट अस्थायी अनुमति लिइएको छ । जुन गैरकानुनी हुन्छ । प्रत्येक दिन भन्सारबाट अस्थायी अनुमति लिनुपर्ने वा प्रत्येक दिनका लागि अनुमति लिएको कागजात अनिवार्य हुनेछ । यस विषयमा यादवले भने आफ्नो सबै कागजात रहेपनि सशस्त्रले जर्बरजस्ती नियन्त्रणमा लिएको आरोप लगाएका छन् । सशस्त्रको नियन्त्रणमा रहेको गाडी अहिलेसम्म रानी बिओपीमा रहेको छ । तर, साँचो लगेर नबुझाएका कारण भन्सार दाखिला गर्न असहज भइरहेको छ ।
एसपी भण्डारीले गैरकानुनी रुपमा यस्ता गाडी सीमा क्षेत्रमा मात्रै ६०० सयको हाराहारीमा रहेको दावी गरेका छन् । यी सबै अवैध हुन् । अस्याथी भन्सार अनुमति लिएर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने कामलाई निरुत्साहित गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन् । भारतीय नम्बर प्लेट भएका गाडी कानुन विपरित राखेर हुने अवैध कारोबारलाई कुनैपनि हालतमा रोक्न प्रयास गरिने उनले बताएका छन् ।