विराटनगर । छठ पर्व नजिकिएसँगै विराटनगरका नहरहरूमा सरसफाइ तीव्र पारिएको छ। यसअघि दीपावलीको समय आसपास मात्र गरिने सरसफाइ यस वर्ष समयमै सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
सुनसरी–मोरङ सिँचाइ आयोजना विराटनगर कार्यालयले विराटनगरस्थित खार्जीदेखि मलाया रोडसम्मको नहरमा सरसफाइ गरिरहेको छ। नहरमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि डोजर प्रयोग गरी सरसफाइ अघि बढाइएको हो।
सुनसरी–मोरङ सिँचाइ आयोजना विराटनगर कार्यालयका ईन्जिनियर लेखनाथ सुवेदीका अनुसार छठ पर्वलाई लक्षित गरी नहरको सरसफाइलाई निरन्तरता दिइएको छ। तत्कालका लागि खार्जीदेखि मलाया रोडसम्म करिब दश किलोमिटर क्षेत्रको नहर सफा गर्ने योजना रहेको उनले जानकारी दिए।
उनका अनुसार नहरमा फोहोर थुप्रिँदा र पानी जम्दा दुर्गन्ध फैलिने समस्या देखिएको थियो। त्यसलाई हटाउन डोजर लगाएर सरसफाइ भइरहेको उनले बताए। नहरको सरसफाइ वर्षमा दुई पटक गरिँदै आएको र यसपटक दीपावली तथा छठ पर्वलाई लक्षित गरेर काम भइरहेको उनको भनाइ छ।
विगतमा विराटनगर महानगरपालिकाले नहर सरसफाइको जिम्मेवारी सम्बन्धित वडालाई दिने गरेको थियो। तर, यस वर्ष भने सुनसरी–मोरङ सिँचाइ आयोजना आफैँले सरसफाइको काम अघि बढाएको छ।
तराई क्षेत्रमा दीपावलीको छैटौँ दिन पछि मनाइने छठ पर्व तीन दिनसम्म विभिन्न धार्मिक विधिका साथ मनाइन्छ। तराईवासीको प्रमुख पर्वका रूपमा रहेको छठ पर्व नदी, पोखरी तथा नहरका घाटमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। पर्वमा ठूलो सङ्ख्यामा श्रद्धालुहरू जलाशयका किनारमा भेला हुने भएकाले नहर तथा घाटको सरसफाइलाई विशेष महत्त्वका साथ हेरिन्छ।