विराटनगर । भारतीय नम्बर प्लेट भएको गाडी चलाइरहेका चालक भागेपछि प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । विराटनगर महानगरपालिका–४ नहरचोकमा प्रहरी पुगेपछि चालक भागेका थिए । दक्षिणबाट उत्तरतर्फ आइरहेको गाडीलाई प्रहरीले रोक्न खोजेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक डम्बर गिरीको कमान्डको टोलीले गाडी चेकजाँच गर्न खोजेको थियो । सेतो रङको महिन्द्रा स्कार्पियोमा भारतीय नम्बर प्लेट बीआर ११ पीए ४२५४ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख कबित कटुवालका अनुसार गाडीको आवश्यक कागजात फेला नपरेपछि वेवारिसे जस्तो बनेको छ । जसलाई भन्सार छली गरी नेपाल भित्राइएको हुन सक्ने आशंका गरिएको छ । गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा पठाइएको छ।
गाडीको इन्जिन नम्बर एसजेजी ४ सी १२२३४ र चेसिस नम्बर एमए१टीए२एसजेएक्सजी २ सी २७९०१ रहेको छ। नियम मिचेर नेपाल प्रवेश गर्ने यस्ता गाडीमा स्थानीय प्रशासनले कडाई गरिरहेको छ । खासगरी यस्ता गाडीमा अवैध सामानदेखि तिहारलाई पटकासम्म भित्र्याउने संभावना अधिक छ । त्यस बाहेक नेपालबाट गाँजा बोकेर सीमा कटाउन समेत पछिल्लो समय भारतीय गाडी बढी प्रयोग भइरहेका छन् ।