विराटनगर । तिहार लक्षित गरेर भारतबाट अवैध रुपमा आयात भएको फूलका मालामा सशस्त्रले निगरानी बढाएको छ । आयात प्रतिबन्धित फूलका माला खुल्ला सीमानाकाबाट भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गर्ने क्रम बढेको छ । यो सूचना प्राप्त भएपछि सशस्त्रले कोल्ड स्टोरबाटै अवैध आयात भएर राखिएका माला बरामद गर्दै आएको हो ।
यस अगाडी रामजानकी र ग्लोबल कोल्ड स्टोरबाट सशस्त्रले २५ लाख बराबरको माला बरामद गरेर नष्ट गरेको थियो । सोमबार साँझ विराटनगर–५ तोदी भवन परिसरमा रहेको इस्टर्न कोल्ड स्टोर प्रा.लि.मा छापा हानेर २३ लाख २० हजार मूल्य बराबरको माला बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ र सीमा सुरक्षा गुल्म रानीबाट खटिएको संयुक्त टोलीले तोदी भवनमा रहेको विजय तोदीको कोल्ड स्टोरमा छापा हानेको थियो । जसमा ३०५ वटा प्लाष्टिकमा पोका बनाएर राखिएको माला बरामद भएको थियो । एकपोका भित्र ४० वटा माला रहेको सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिएका छन् । माला बरामद भएपनि यसका धनीभने सम्पर्कमा आउने गरेका छैनन् ।
प्रहरी उपरीक्षक भण्डारीका अनुसार कोल्डस्टोरका कर्मचारीले माला भारतीय व्यापारीको भएको बताउने गरेका छन् । सशस्त्र प्रहरीले सोमबार बिहान पनि रामजानकी कोल्ड स्टोरबाट २ लाख १० हजार मूल्य बराबरको माला बरामद गरेको थियो । अहिले माला भित्र्याएर कहाँ र कसले बजारमा ल्याउँछ भनेर स्थानीय प्रशासनले कडाई गरिरहेको छ । भारतबाट आयात हुने यस्तो माला भन्सारको बाटोबाट आउँदैन । किन की यसको आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । अवैध रुपमा नै भित्र्याउने मालामा फर्मालिन हुन्छ । जसले मानव शरीरमा दाद तथा चिलाउने समस्या सिर्जना गर्दछ ।