विराटनगर । विराटनगर महानगरपालिका–३ पोखरियामा रहेको लिबर्टी (स्वतन्त्र) नेपाल पुनःस्थापना केन्द्र र युवा व्यवसायी सुमन प्रसाईंको संयुक्त आयोजनामा दीपावली, छठ तथा नेपाल संवत् नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।

लिबर्टी नेपाल परिसरमा आयोजित कार्यक्रममा अर्थशास्त्री प्राध्यापक भेषप्रसाद धमला प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा युवा व्यवसायी सुमन प्रसाईंले नेपालीका मौलिक चाडपर्वले समाजमा एकता, सद्भाव र आत्मीयताको भावना अभिवृद्धि गर्ने उल्लेख गरे। यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी सम्बन्ध र भाइचारालाई थप सुदृढ बनाउने उनको भनाइ थियो।

कार्यक्रममा युवा व्यवसायी मनोज चौहानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। शुभकामना आदानप्रदानसँगै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
सो अवसरमा पूर्वाञ्चल नृत्य प्रशिक्षक केन्द्रका कलाकारहरूले तिहारसम्बन्धी गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।