विराटनगर । विराटनगरमा शुक्रबार सम्पन्न पाँचौँ संस्करणको ‘विराटनगर म्युजिक फेस्टिवल २०८३’ मा ५ देखि ६ हजार दर्शक सहभागी भएको आयोजकले दाबी गरेको छ। लाइभ इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरस्थित जैन भवनमा सम्पन्न सांगीतिक कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।

विगत चार वर्षदेखि निरन्तर लाइभ सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको सामाजिक संस्था लाइभ इन्टरटेन्मेन्टले यसपटक करिब पाँच महिनाअघिदेखि नै फेस्टिवलको तयारी थालेको थियो। आयोजकका अनुसार शुक्रबार साँझ आयोजित कार्यक्रममा संगीतप्रेमी दर्शकले जैन भवन परिसर भरिभराउ भएको थियो।

फेस्टिवलमा युवा पुस्तामाझ लोकप्रिय काठमाडौंका अल्बाट्रस र रकहेड्स ब्यान्डलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। दिउँसो ४ बजेदेखि नै प्रवेशद्वार खुला गरिएसँगै दर्शकहरू कार्यक्रमस्थलमा पुग्न थालेका थिए।

कार्यक्रमको सुरुवात स्थानीय डान्स क्लबका कलाकार तथा विराटनगरका स्थानीय संगीतकर्मीहरूको प्रस्तुतिबाट गरिएको थियो। त्यसपछि काठमाडौं आएका चर्चित ब्यान्ड अल्बाट्रस र रकहेड्सले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। ब्यान्डहरूको प्रस्तुतिमा दर्शकले राति १०ः३० बजेसम्म नाच्दै, गाउँदै र रमाउँदै साथ दिएका थिए।

विराटनगर म्युजिक फेस्टिवलका कार्यक्रम संयोजक सन्तोष महत सेन्ट्रकले यस वर्षको कार्यक्रम विगतका संस्करणभन्दा भव्य र सभ्य रूपमा सम्पन्न भएको बताए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, प्रायोजक, कलाकार, दर्शक तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरे। कार्यक्रम सञ्चालनका क्रममा केही त्रुटि तथा कमजोरी भएको भए त्यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरका कलाकारसँग एउटै मञ्चमा प्रस्तुत गर्ने तथा विराटनगरमा सांगीतिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले आयोजना हुँदै आएको म्युजिक फेस्टिवलले यसपटक पनि स्थानीय संगीतप्रेमीमाझ उत्साह थपेको आयोजकको भनाइ छ।
