विराटनगर । किरात याक्थुङ चुम्लुङ नगर समिति विराटनगरले दीपावलीको अवसरमा विराटनगरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
विराटनगर महानगरपालिका–११ र १२ को सिमानामा रहेको पञ्चमुखी चोकमा यही कात्तिक २४ गते मंगलबार साँझ बलिहाङ तङनाम कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा लिम्बू समुदायका मौलिक सांस्कृतिक नृत्य च्याब्रुङ (ढोल नाच), धान नाचलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम संयोजक नरेश तुम्रोकले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षहरूमा घरघर तथा टोलटोलमा पुगेर देउसीभैलो खेल्दै बलिहाङ तङनाम मनाउने गरिएको थियो । तर, यसपटक पर्वलाई थप आकर्षक र भव्य बनाउन मञ्चीय कार्यक्रम (स्टेज शो)आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गर्ने कार्यक्रमसमेत रहेको किरात याक्थुङ चुम्लुङ महानगर कार्यसमितिले जनाएको छ ।
बलिहाङ तङनाममार्फत लिम्बू समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।