यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
आज दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले बताएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।