छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

<span class='c1'>छठ पूजाको आज पहिलो दिन,</span> <span class='c2'>बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट</span>

वीरगन्ज । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ।

व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा आरम्भ भएको हो।

नहाय–खायका दिन व्रतालुहरूले बिहानै नजिकैको नदी, तलाउ, पोखरी तथा जलाशयमा स्नान गरी शरीर र मनलाई शुद्ध पारेर सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ। यस दिन अरवा चामलको भात, चनाको दाल र लौकाको तरकारी खाने चलन रहेको छ।

तराई–मधेसको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने चारदिने छठ महापर्वका लागि पर्सा जिल्लाका नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा छठघाट निर्माण र सजावटको काम तीव्र रूपमा भइरहेको छ। जिल्लाको सदरमुकाम वीरगन्जस्थित घडिअर्वा पोखरी, मुर्ली पोखरी, नगवा पोखरी, छपकैया पोखरी र रानीघाटलगायत स्थानका छठघाटको सजावट अन्तिम चरणमा पुगेको छ। रङ्गीविरङ्गी बिजुलीका बत्ती, फूलमाला र आकर्षक पण्डालले छठघाटहरूलाई बेहुलीझैँ सिँगारिएको छ।

नेपालमै छठ पूजाका लागि प्रसिद्धि कमाएको वीरगन्जको घडिअर्वा पोखरीको सजावटमा यस वर्ष लाखौँ रुपैयाँ खर्च गरिएको छ। पोखरी परिसरमा पूजा–आराधना तथा दर्शन गर्न आउने व्रतालु र श्रद्धालुहरूको सुविधाका लागि विभिन्न व्यवस्था मिलाइएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए।

अध्यक्ष साहका अनुसार छठ पर्वको तेस्रो दिन अर्थात् सन्ध्या अघ्र्यका अवसरमा नेपाली सेनाको वीरगन्जस्थित टोलीले छठीमैयालाई सलामी अर्पण गर्ने तयारी गरेको छ। वीरगन्जको माईस्थान चोकबाट बाजागाजासहित मार्च गर्दै पोखरीस्थित छठघाट पुगेर नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम रहेको उनले बताए।

छठ पर्वको दोस्रो दिन व्रतालुहरूले ‘खरना’ विधि पूरा गर्छन्। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई ‘सन्ध्या अघ्र्य’ अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई ‘प्रातः अघ्र्य’ दिएपछि छठ पर्वको समापन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्