सिरहा । छठ पर्व आउन अब एक दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको कामले तीव्रता पाएको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले स्थानीयवासी, युवा तथा श्रद्धालु भक्तजनहरू सामूहिक रूपमा घाट व्यवस्थापनमा जुटेका छन्।
सिरहाको गोलबजार, चोहर्वा, निपनिया, लहान, नरहा लगायतका विभिन्न स्थानमा छठघाट सफाइ तथा सजावटको काम धमाधम भइरहेको छ। निपनिया पोखरी, मैनाबती खोला र चोहर्वा पोखरी लगायतका जलाशय आसपासका क्षेत्रमा स्थानीयवासीले श्रमदानमार्फत घाट सफा गर्ने, झारपात हटाउने, बाटोघाटो मर्मत गर्ने तथा पूजास्थल व्यवस्थित बनाउने काम गरिरहेका छन्।
कतिपय स्थानमा स्थानीयवासीले कोदालो, खुर्पी र हँसियालगायतका सामग्री प्रयोग गरी सरसफाइ गरिरहेका छन् भने आवश्यकताअनुसार जेसीबीसमेत परिचालन गरेर घाट सम्याउने काम भइरहेको छ। त्यस्तै, विभिन्न घाटमा टेन्ट, पण्डाल तथा आकर्षक सजावटका सामग्री राखेर पूजास्थललाई व्यवस्थित र सुन्दर बनाउने तयारीसमेत भइरहेको छ।
गोलबजार नगरपालिका–७ का स्थानीय सरोज रायका अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयवासी केही दिनअघिदेखि नै सरसफाइ तथा घाट व्यवस्थापनमा सक्रिय भएका हुन्।
उनले भने, “छठ हाम्रो प्रमुख आस्थाको पर्व हो। व्रतालु तथा श्रद्धालुहरूलाई पूजाअर्चना गर्न कुनै समस्या नहोस् भनेर बाटोघाटोदेखि छठघाटसम्म सरसफाइ र व्यवस्थापनको काममा हामी पहिलेदेखि नै जुटेका छौँ।
त्यस्तै, स्थानीय नितिस रायले पनि छठ पर्वलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीयवासी एकजुट भएर तयारी गरिरहेको बताए। उनका अनुसार घाट व्यवस्थापनका लागि जेसीबीदेखि हातले प्रयोग गरिने विभिन्न उपकरणसमेत परिचालन गरिएको छ।
सूर्यदेव र छठी माताको आराधनासँग जोडिएको छठ पर्वमा व्रतालुहरूले कठोर व्रत तथा उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। यस पर्वमा नदी, पोखरी तथा अन्य जलाशयका किनारमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।
छठ पर्व नजिकिँदै जाँदा सिरहाका गाउँदेखि सहरसम्म धार्मिक उत्साह र चहलपहल बढ्दै गएको छ। स्थानीयवासीको एकता, सामूहिक श्रमदान र सक्रियताले छठघाटहरू सफा, सुन्दर तथा व्यवस्थित बन्दै गएका छन्।