काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पु¥याएको खुलेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ कात्तिक २८ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार थाइल्यान्डबाट नेपाल आएका शङ्कास्पद यात्रुको प्रोफाइलिङ तथा चेकजाँच गर्ने क्रममा उनको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको अवस्थामा साढे ५ किलो सेतो हेरोइन बरामद भएको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार तिघारे यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए । उनले पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पु¥याएको अनुसन्धानबाट खुलेको छ ।
‘पक्राउ परेका व्यक्ति अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति हुन् । यसअघि पनि उनले दुई पटक लागुऔषध भारत पु¥याएको देखिन्छ,’ निरौलाले भने । यसपटक उनी लाओसबाट बैंकक हुँदै नेपाल आइपुगेका थिए । अनुसन्धानका क्रममा उनले लाओसबाहेक जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको ब्यूरोले जनाएको छ ।
प्रहरीले तिघारेको साथबाट साढे ५ किलो सेतो हेरोइनसँगै एक थान पासपोर्ट, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्र पनि बरामद गरेको छ । बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुने ब्यूरोले जनाएको छ । भारत पुगेपछि यसको मूल्य अझ बढी पर्ने प्रहरीको भनाइ छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तिघारेमाथि थप अनुसन्धान भइरहेको छ । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा दोषी ठहरिएमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।