विराटनगर । छठ पर्वको मौका छोपी विराटनगरका विभिन्न स्थानमा चोरी गर्ने ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । घरधनीहरू छठ पूजाका लागि घरबाहिर गएको मौका छोपेर चोरी गर्न प्रवेश गरेका उनीहरूलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।
मोरङ प्रहरीका अनुसार आइतबार राति र सोमबार विहान विराटनगरका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका–१२ स्थित विवेक यादवको घरमा चोरी गर्न प्रवेश गरेका दुई जनालाई घरधनी पक्ष र छिमेकीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ पर्नेमा विराटनगर–१७ रानीका ४८ वर्षीय नौसाद अली र सिमरा घर भएका ४० वर्षीय सन्तोषकुमार पाण्डे रहेका छन्। । घरमा कोही नभएको मौका छोपी चोरी गर्न प्रवेश गर्ने क्रममा यादवकी श्रीमती र छिमेकीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए।
त्यसैगरी विराटनगर–८ हरिहर चोकस्थित विष्णु श्रेष्ठको घरमा चोरी गर्न पसेका दुई जनालाई स्थानीय युवाहरूको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय युवा विकास सुब्बाका अनुसार सोमबार बिहान करिब २ बजेतिर घरमा चोरी गर्न मानिस पसेको सूचना पाएपछि हाटखोला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयलाई खबर गरिएको थियो। प्रहरी टोली पुगेपछि स्थानीय युवाहरूको सहयोगमा घरलाई घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेमा झापाको दमक घर भई हाल मोरङ कटहरी–३ मा डेरा गरी बस्ने ५९ वर्षीय मोती मियाँ र भारतको अररिया जिल्ला बथनाहा घर भई सोही स्थानमा डेरा गरी बस्ने ५८ वर्षीय बिन्देश्वर दास रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।


यस्तै, विराटनगर–१२ निवासी सन्तोष चापागाईंको घरबाट भाँडाकुँडा चोरी गरेको आरोपमा दुई महिला पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–१७ की २२ वर्षीया सुखी खातुन र मोहम्मद आजाद रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए।
उनका अनुसार छठ पर्वलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो। सुरक्षा व्यवस्थाका बाबजुद केही स्थानमा छिटपुट चोरीका घटना भएका छन्। उनले चाडपर्वका बेला घरधनीहरू पनि सचेत हुनुपर्नेमा जोड दिए।
घर छाडेर बाहिर जाँदा राम्रोसँग ताल्चा लगाउने, विश्वासिला छिमेकीलाई घरको निगरानी गर्न आग्रह गर्ने, चोरी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्ने तथा घर र पसलमा सीसीटीभी क्यामेरा जडान गर्न डीएसपी श्रेष्ठले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यसैबीच, आइतबार राति विराटनगर–१० स्थित संसारीमाई स्थानमा रहेको ईशिका ट्रेडर्स र विराटनगर–१२ अभिवादन टोलका कमल साहको घरमा समेत चोरी भएको छ। ती घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा चोरी भएको सामानको विवरणबारे थप अनुसन्धान भइरहेको छ ।