नेपाली सांगीतिक इतिहासमा नयाँ अध्याय थपिने भएको छ। विश्व चर्चित पाकिस्तानी गायक आतिफ अस्लमले पहिलोपटक काठमाडौं उपत्यकाबाहिर इटहरीमा भव्य लाइभ कन्सर्ट गर्ने भएका छन्।
‘इस्टर्न इकोज’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने भएको हो।
जय मिडिया म्यानेजमेन्टले आयोजना गर्न लागेको कन्सर्टमा आतिफ अस्लमले आफ्ना चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्। आयोजक जयराज रायका अनुसार काठमाडौंमा मात्रै सीमित हुँदै आएका अन्तर्राष्ट्रिय स्तरका सांगीतिक कार्यक्रम पूर्वी नेपालमा पनि सफलतापूर्वक आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिन कन्सर्ट इटहरीमा गर्न लागिएको हो।
सीमावर्ती भारतीय सहरहरूसमेत नजिक रहेकाले कन्सर्टमा भारतबाट मात्रै ८ देखि १० हजार दर्शक आउने आयोजकको अपेक्षा छ।
यस कार्यक्रमले पूर्वी नेपालको पर्यटन, होटल तथा स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ। आतिफ अस्लमको प्रस्तुतिले इटहरीलाई अन्तर्राष्ट्रिय सांगीतिक आकर्षणको केन्द्र बनाउने अपेक्षा आयोजकको छ।दर्शकहरूले खल्ती एप प्रयोग गरी सहज, सुरक्षित र सुविधाजनक तरिकाले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन् ।