विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालयका लागि बाराको अमलेखगन्जबाट डिजेल बोकेर ल्याइरहेको ट्यांकर पुनः नियन्त्रणमा लिएर इन्धन चोरी भएको छ । सुनसरीको इनरुवामा पार्किङ गरेर राखिएको अवस्थामा को १ ख २३३९ नम्बरको ट्यांकर आइतबार राती चोरी भएको हो । ट्याङकर चोरी भएको घटना सोमबार बिहान मात्रै जानकारी भएको थियो ।
सुनसरी आयल सप्लायर्समा पार्किङ गरिएको ट्याङकर प्रहरी टोलीले सोमबार इनरुवा नगरपालिका–६, हलेसी चोकमा पारेको थियो । उक्त ट्यांकर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । भेटिएको ट्याङकरको नापजाँच गर्दा एक हजार ५८१ लिटर डिजेल चोरी भएको पाइएको थियो । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार ओम ढुवानी जनकपुरको उक्त ट्याङकरबाट हराएको डिजल बराबरको रकम असुलसँगै त्यति नै मात्रामा बिगो भरिएको छ । त्यस बाहेक चालक प्रहरीको नियन्त्रणमा परेका छन् ।
जनकपुरको ओम ढुवानी सेवाको उक्त ट्यांकर विराटनगरबाट चलाइँदै आएको थियो । त्यो ट्यांकर चलाउन पाउने २० वर्षको अवधि पुग्न अब एक महिना मात्र बाँकी छ । आउँदो पुसमा आफैँ सम्झौता सकिने अवस्थामा रहेको गाडी चोरीमा परेको हो । ढुवानी कम्पनीले एउटा गाडीको समयावधि सकिएमा अर्को नयाँ ट्यांकर राख्न पाउने कानुनी व्यवस्था छ । यो घटनापछि भने उक्त कम्पनीले अब नयाँ ट्यांकर हाल्न अब एकवर्षसम्म कुर्नुपर्नेहुन्छ । गत असार ७ गते कञ्चनबारीस्थित चारैतिरबाट घेरिएको अग्लो पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल भरिएको को१ख ६१९० नम्बरको ट्यांकर चोरी भएको थियो । नवीन ढुवानी सेवाको उक्त ट्यांकर सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ स्थित हुलाकी सडकखण्डमा फेला पर्दा करिब ९७३ लिटर इन्धन चोरी भएको पाइएको थियो ।
०७८ भदौ १३ गते पनि विराटनगरस्थित प्रादेशिक डिपोको पार्किङस्थलबाटै तेल भरिएको ट्यांकर चोरी भएको थियो । उक्त घटनामा प्रहरीले विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो । यसबाहेक ०७५ सालमा दुईपल्ट र ०७७ मा एकपटक पार्किङस्थलबाटै ट्यांकर चोरेर तेल गायब पारिएको थियो ।