विराटनगर । विराटनगरमा राति १० बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले मंसिर १ गतेदेखि अनुमति प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ।
नयाँ मापदण्ड जारी गर्दै प्रशासनले राति १० बजेपछि पनि व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट निवेदन लिन थालेको हो। अब व्यवसायको प्रकृति र तोकिएका मापदण्डका आधारमा विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रशासनमा निवेदन बुझाएकै आधारमा व्यवसाय सञ्चालन गर्न पाइने छैन। सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदन दिएपछि अनुगमन समितिले व्यवसायस्थलको स्थलगत निरीक्षण गर्नेछ। निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा भएको सुनिश्चित भएपछि मात्रै व्यवसाय सञ्चालनको अनुमति दिइनेछ।
रात्रिकालीन व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले प्रशासनले ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ लागू गरेको हो। राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले भने छुट्टै अनुमति लिनुपर्ने छैन। मापदण्डअनुसार पान पसल, मिठाई पसल, चिया पसल, आइसक्रिम, किराना, रेस्टुरेन्ट, खाना–खाजा पसल, दोहोरी तथा गजललगायतका व्यवसायले अनुमति लिएर राति १२ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। त्यस्तै, लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र लाउन्ज बारलाई भने राति २ बजेसम्म सञ्चालन गर्न अनुमति दिइने व्यवस्था गरिएको छ।
व्यवसाय सञ्चालनको समय बढाइए पनि मदिरा बिक्री तथा सेवनमा भने छुट्टै समयसीमा तोकिएको छ। अनुमति प्राप्त रात्रिकालीन व्यवसायले दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन पाउने छैनन्। शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ। मदिरा बिक्री गर्ने पसलको हकमा भने बिहान १० बजेदेखि राति १० बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै, मनोरञ्जनात्मक व्यवसायमा बालबालिकाको प्रवेश र श्रमिकको सुरक्षालाई समेत मापदण्डले प्राथमिकता दिएको छ। डान्सबार, दोहोरी, लाइभ ब्याण्ड, पब, क्लब तथा डिस्कोमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गरिएको छ। यस्ता व्यवसायमा सुर्ती तथा मदिरा बिक्री गर्न नपाइने र धूमपानका लागि छुट्टै क्षेत्रको व्यवस्था गर्नुपर्ने प्रावधान पनि राखिएको छ। नयाँ मापदण्ड कार्यान्वयनमा आएसँगै विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन थप व्यवस्थित हुने प्रशासनको अपेक्षा छ।