काठमाडौं । उखु किसानले भोग्दै आएको समस्या अध्ययन गर्न प्रादेशिक सरकारले अध्ययन समिति गठन गरेको छ। उखु किसानले उखु बिक्री गरेबापत समयमा भुक्तानी नपाएको, लागत मूल्य नपाएको, सरकारबाट प्राप्त गर्नुपर्ने प्रोत्साहन खर्च नपाएको विषयमा अध्ययन गर्न प्रदेश २ सरकारले आठ सदस्यीय अध्ययन समिति गठन गरेको हो।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साहकाअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको हो।
समितिलाई उखु किसान र उखु उद्योगीबीचको समस्या पहिचान गरी सुझावसहित प्रतिवेदन एक महिनाभित्र उपलब्ध गराउन जिम्मेवारी दिइएको छ। यसका साथै यो क्षेत्रमा देखा परेको समस्याबारे छलफल गर्न किसान, चिनी उद्योगीसहित सरोकारवाला निकायको आगामी बिहीबार संयुक्त बैठकसमेत मन्त्रालयले बोलाएको छ।