दिनेश कटुवाल-
नेपालमा लघुवित्त कारोवारको वास्तविक थालनी ग्रामीण विकास बैंकको स्थापना (२०४९ साल) संगसंगै भएको हो । तर यो भन्दा अगाडि सामूहिक जमानीमा कर्जा प्रदान गर्ने कृषि विकास बैंकको साना किसान विकास आयोजना (२०३२) र वाणिज्य बैंकहरु मार्फत संचालित सुपरिवेक्षण कर्जा (२०३१), साना क्षेत्र कर्जा र सघन बैंकिंग कार्यक्रम (२०३८) ले स(साना क्षेत्रमा प्रदान गर्दै आएको कर्जालाई यसको प्रारुप मान्न सकिन्छ ।
लघुवित्तको बर्तमान अवस्था :
नेपाल राष्ट्र बैकको २०७६ पौषको तथ्याकंलाई आधार मान्ने हो भने मुलकुभर ९० वटा लघुवित्त वित्तीय संस्थाले (राष्ट्रिय स्तरको ४४, प्रदेशस्तर १४ र अन्य ३२) देशको ७७ वटै जिल्लामा लघुवित्त वित्तीय सस्थाको शाखाहरुले ४५ लाख ७९ हजार ७ सय ३२ सदस्यहरुलाई सेवा पुरयाएको अवस्था देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरुले २८ लाख ३ हजार ५ सय ७५ भन्दा बढि ऋणी सदस्यहरुलाई २ खर्व ५६ अर्व बराबर कर्जा प्रभाह गरेको छ भने, ९८ अर्व निक्षेप रहेको अवस्था देखिन्छ । अर्थात लगानीमा रहिरहेको रकमको ३८.५३ प्रतिशत बचत, र कुल वाँकी कर्जाको १४.९४ प्रतिशत धितो कर्जा रहेको छ । प्रत्यक्षरुपमा १८,३७९ भन्दा बढिलाई (कर्मचारी) रोजगारी प्रदान गरेको अवस्था छ ।
यसर्थ नेपालको आर्थिक विकासमा लघुवित्तको महत्वपुर्ण योगदान रहेको भएता पनि यसको उचित मुल्यांकन भए जस्तो लाग्दैन । अधिकांश विश्लेषण कर्ताहरुले यसले पुरयाएको सेवाको भन्दा पनि यसले लिने व्याजदर र शेयरमुल्यको आधारमा मात्र मुल्यांकन गर्ने गरेको देखिन्छ । जुन वास्तविकता भन्दा फरक देखिन्छ । नेपालको ग्रामीण विकास तथा उक्त क्षेत्रमा वित्तीय पहुँच अभिबृद्धि गर्न लघुवित्तको विकल्प छैन ।
चिनको वुहान प्रान्तवाट तीन महिना अघि शुरु भएको कोरना भाइरस(ऋयखष्म(ज्ञढ) ले विश्वको अधिकांश राष्ट्रको अर्थतन्त्र धारासाही बनाउनुको साथै १ लाख ५४ हजार भन्दा बढिको मृत्यू समेत भइसेकेको अवस्था देखिन्छ । विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि यसवाट अछुतो छैन । २०७६ चैत्र ११ वाट लकडाउनमा रहेको नेपालमा लघुवित्तको अवस्था कस्तो छ र भोलीको दिनमा यसले कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा आजै विश्लेषण गरेर प्रभावकारी रणनीति तयार गर्नु पर्ने टडकारो अवस्था देखिन्छ । देशका विपन्न वर्ग तथा गरिव परिवारका व्यक्तिहरु लघुवित्तको कार्यक्रममा आबद्ध रहेका छन ।
लघुवित्तको मुख्य कार्य प्रत्यक्ष रुपमा फिल्डमा गएर सेवा लिने दिने हो । तर लकडाउनको कारण अधिकांश कार्यालयहरु बन्द छन भने कर्मचारीहरु कार्यालयमा गएर वस्ने उचित वातावरण छैन । त्यसै गरि केन्द्र बैठक संचालन प्रक्रिया रोकिएको छ भने सदस्यहरु समेत कार्यालयमा गएर सेवा लिने अवस्था छैन । यस कारण पनि कोरोनाको प्रभाव र लकडाउनको प्रभाव नेपालको लघुवित्तको क्षेत्रमा बढि पर्ने देखिन्छ । वाणिज्य बैंक तथा विकास बैंक जस्तो कार्यालयवाटनै सेवा प्रदान गर्ने अवस्था रहन्न ।
लघवित्तको क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभावहरुः
आवश्यकता भन्दा बढि लघुवित्त वित्तीय संस्थाको उपस्थितीले यस अघिनै ठुलो समस्यामा परेको लघुवित्त क्षेत्र नेपाल राष्ट्र बैंकको मर्जर पोलिसिले समेत अन्योलमा रहेको अवस्थामा कोरोनाको प्रभावले झन ठुलो समस्यामा पर्ने निश्चित छ । भोलीको दिनमा आर्थिक भार थेक्न नसक्ने र रोजगारीमा कटौती गर्नु पर्ने, सेवा सुविधामा समेत कटौती गर्नु पर्ने आवश्यकता नआउला भन्न सकिन्न । यसर्थ समयमानै सहि मार्ग खोज्नु पर्ने आवश्यकता टडकारो रुपमा देखा परेको छ । यसका लागि नियमन निकाय नेपाल राष्ट्र बैंकले समयमानै सम्बोधन गर्नु पर्ने अवस्था छ भने यस क्षेत्रका प्रभुत्व वर्ग तथा हस्तीहरुले समेत उचित मार्ग खोज्नु पर्ने हुन्छ । कोरोनाको प्रभावले सदस्य, वित्तीय संस्था, कर्मचारी तथा सरोकारवालाहरुलाई प्रत्यक्ष/अप्रत्यक्षरुपमा अल्पकालिन तथा दिर्घकालिन असर पर्ने निश्चित छ । तत्काल कोरोनाको प्रभावले सदस्य तथा वित्तीय संस्थाको हकमा निम्न असर पर्ने देखिन्छ ।
सदस्यको हकमा
• उपभोगमा बढि खर्च ।
• व्यवसायिक लागत खर्चमा बृद्धि हुने ।
• उत्प्रेरणामा कमी, मानसिक तनाव ।
• परिवारको आवश्यकता पुरा गर्न कठिनाई ।
•नयाँ ऋण लन गाह्रो ।
• बचतमा कमी ।
• आर्थिक नविकरणमा असर ।
• कालोसुचीमा परिने सम्भावना ।
• वित्तीय साक्षरता, व्यवसायिक तथा शिपमूलक तालिम तालिमहरु प्राप्त नहुनु ।
• आर्थिक गतिविधि शुन्य हुने ।
• उत्पादित वस्तु तथा सेवाहरुको खरिद विक्रीमा कमी आएको छ । अर्थात उत्पादन लागत भन्दा कममा विक्री गर्नु पर्ने वाध्यता आएको छ भने कहि कतै नष्ट गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
वित्तीय संस्थाको हकमा :
• कर्जा लगानी तथा असुली प्रक्रिया ठप्प हुने ।
•नाफामा दिर्घकालिन असर पर्ने ।
• थोरै व्याज, थोरै आम्दानी ।
• खर्चमा बृद्धि (कर्मचारी तथा अन्य प्रशासनिक खर्चमा बृद्धि)
•दिगोपनामा असर ।
• सदस्य तथा ऋणी संख्यामा कमी ।
• वित्तीय संस्थाको विश्वसनियतामा असर ।
• भाखा नाघेको कर्जामा बृद्धि ।
• स्प्रीडदरमा बृद्धि ।
• संस्था बन्द हुने अवस्था ।
समस्याले समस्या मात्र सिर्जना गर्दैन । यसले अघि बढन थप उत्प्रेरणा समेत दिने गर्दछ । यस्ता समस्याहरुवाट वित्तीय संस्थाहरुले अवसरको रुपमा लिई आफुले दिने सेवा, सुविधा तथा अन्य प्राविधिक क्षेत्रमा सुधार गर्नु पर्ने आवश्यकता महशुस गर्नु पर्ने हुन्छ । सधै एकै अवस्था रहन्न । एक आर्थिक वर्षमा कमाएको आम्दानी सतप्रतिशत वोनशको रुपमा मात्र वितरण गर्ने होइन की जगेडा कोष पनि दह्रो बनाएर राख्नु पर्छ भन्ने सन्देश यस्ता विपत्तीले दिने गर्दछ । त्यसै गरि प्रयाप्त पुँजी निर्माण गरि उत्पादन क्षेत्रमा मात्र लगानी गर्नु पर्ने देखिन्छ । अबको दिनमा ग्रामीण मोडलमा आधारित लघुवित्त कार्यक्रममा पनि परिमार्जन गर्नु पर्ने आवश्यकता देखिन्छ । त्यसै गरी वित्तीय संस्थाहरुले उपलब्ध गराउने सेवाहरुको वितरण प्रणालीमा समेत समसामयिक रुपमा सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । अनावश्यक खर्चहरु कटौती गर्ने तथा छिटो छरितो सेवा प्रदान गर्ने उचित वित्तीय प्रणालीलाई आत्मसाथ गर्नु पर्ने हुन्छ । जसको लागि निम्न पक्षमा सुधार ल्याउनु पर्ने हुन्छ ।
समाधानको उपायहरु :
नियमन निकाय नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई निम्न सुविधा उपलब्ध गराउनु पर्ने तथा लघुवित्त वित्तीय संस्थाले समेत वित्तीय प्रणालीमा सुधार गर्नु पर्ने हुन्छ ।
ड्ड कर्जा नविकरण तथा पुनरतालिकीकरण गर्न छुट दिनु पर्ने
ड्ड कर्मसियल, विकास बैंक तथा वित्तीय संस्थाले तलघुवित्त वित्तीय संस्थालाई उपलब्ध गराएको व्याजदर आधारदर भन्दा बढि नहुने गरी उपलब्ध गराउने व्यवस्थाको कार्यन्वयन गर्नु पर्ने ।
• आगामी ३ आर्थिक वर्षको करमा विशेष छुट प्रदान गर्नु पर्ने
• केन्द्र बैठकमा मात्र किस्ताअसुली गर्ने प्रचलन रहेकोमा अब उप्रान्त इलोक्ट्रोनिक माध्यमवाट समेत भुक्तानी तथा कर्जा लगानीको व्यवस्था मिलाउनु पर्ने ।
• लघुवित्तको ग्रामीण मोडलमा परिवर्तन गर्नु पर्ने
• अनिवार्य कर्जा वीमा लागु गर्नु पर्ने, वीमा प्रिमियम न्यूनतम कायम गर्नु पर्ने
• वीमा गरिएको कर्जाको वीमा दावी प्रक्रियामा सुधार ल्याउनु पर्ने
• नाफाको निश्चित प्रतिशत छुटयाएर आपतकालिन कोष खडा गर्नु पर्ने
•आगामी आर्थिक वर्ष भित्र लघुवित्त वित्तीय संस्थाको संख्या २५ वटामा झार्ने
• कर्जा सुचनालाई थप प्रभावकारी बनाउनु पर्ने
• लकडाउन अवधिमा समेत निश्चित प्रक्रिया पुरा गरी शाखा संचालन गर्ने वातावरण उपलब्ध गराउनु पर्ने ।
(कटुवाल नेरुडे लघुवित्त वित्तीय संस्था सहायक महाप्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ ।)