बिद्युत महशुलमा झुक्किए ग्राहक

बिद्युत महशुलमा झुक्किए ग्राहक

विराटनगर । लकडाउन अवधीभर नेपाल बिद्युत प्राधिकरणको आईटी विभागले औसत खपतलाई आधार मानेर बिद्युत यूनिट ग्राहकको नाममा इन्ट्रि गरिदियो । फागुन महिनाको महशुल चैतमा नबुझाएका सेवाग्राहीको असारसम्मको एकमुष्ट रकम धेरै भएपछि उनीहरु आफैं झुक्किएका छन् ।
प्राधिकरणले लकडाउन सुरु भएको चैत महिनाको सुरु अवधीमा महशुल बुझाउने ग्राहकको नाममा बैशाख महिनाको बिद्युत खपत त्यसैलाई आधार बनाएर इन्ट्रि गरेको थियो । बैशाख महिनामा महशुल नबुझाएमा जेठ महिनाको इन्ट्री गर्दा गतवर्षको बैशाखको खपतलाई आधार मान्यो ।

मिटर रिडिङ गर्दै घरघरमा प्राधिकरणका कर्मचारी नखटिएपनि स्वचालित रुपमा ग्राहकको नाममा पैसा जम्मा हुँदै गयो । असारमा घरघरमा पुगेर गरिएको मिटर रिडिङमा वास्तविक खपत यूनिट आएपछि धेरै रकम देखिएयो । त्यसले अधिकांश ग्राहकलाई बिद्युत महशुल बढी आएको भन्दै चिन्तासँगै अल्मल्याई दिइएको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार अनलाइन भुक्तानी गर्दा पनि ग्राहकले औसतलाई आधार मानेर रकमान्तर गरेका छन् । प्राधिकरणले पनि औसतलाई आधार मानेरै यूनिट चढाएको हो । तर, कसैले भुक्तानी गरेको रकम कट्टा नभएको देखिएमा त्यस्तो रकम समायोजन हुनेछ ।

यो अवधीमा खपत गरेकै आधारमा देखिएको यूनिटको रकम एकै पटक भुक्तानी गर्नुपर्दा अत्तालिएका ग्राहकले प्राधिकरणमा गुनासो राख्दै आएका छन् । ग्राहकले राखेको गुनासो प्राधिकरणको लेखा शाखाबाट तत्काल समाधान समेत हुने गरेको छ ।
विराटनगर–९ का गिरिराज प्रधानले चैत र बैशाखको बिद्युत महशुल जेठमा भुक्तानी गरेका थिए । अनलाइनमार्फत प्रधानले दुई महिनाको ६ हजार ४६८ रुपिँया भुक्तानी गरेको रकम कट्टा नभई असारमा एकमुष्ट रकम आएको उनको भनाई छ ।

प्राधिकरणले असार १ गतेदेखि मिटर रिडिङ सुरु गरेपछि प्रधानले भुक्तानी गर्नुपर्ने रकममा ५ हजार ९४७ रुपिँया जोडिएर ९ हजार ७९९ को बिल आएको छ । जसमध्ये ३ हजार ८५२ रुपिँया चालु महिना जेठको र बाँकी रकम अघिल्लो महिना उल्लेख थियो । अनलाइनमार्फत भुक्तानी गरिएको रकम चैत र बैशाखको नभई फागुन र चैतको दाखिला भएको प्राधिकरणको सिस्टममा देखिएको छ । लकडाउन अगाडी चैतमा रकम भुक्तानी गर्दा फागुन महिनाको मात्रै हुन्थ्यो तर भुक्तानी नगर्दा फागुन यताकै रकम सिस्टममा देखिएको हो ।

अनलाइन भुक्तानी गरिएको रकम समेत प्राधिकरणको सिस्टममा देखिएको भन्दै गुनासो गर्ने प्रधान मात्रै हैनन् । कटहरी–२ निवासी बविता अधिकारीको असारमा गरिएको मिटर रिडिङमा समेत बिद्युत खपत भन्दा बढी रकम आएको भन्दै लेखा शाखामा मंगलबार गुनासो पोखेकी छिन् । लेखाले अधिकारीको बिद्युतको खपतको अवस्था र बुझाउनु पर्ने रकमको विषयमा अध्ययन गरेर तत्काल समाधान खोजिदियो ।
तर, प्रधान र अधिकारी जस्तै नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रमा महशुल बढी आएको भन्दै गुनासो गर्ने सेवाग्राहीको संख्या दैनिक बढ्दै गएको छ । लकडाउन अवधीभर मिटर रिडर्स ग्राहकको घरदैलोमा पुग्न सकेनन् । सेवाग्राही आफैं रकम बुझाउने र प्राधिकरणले समेत मिटर रिडिङ गर्ने अवस्था नहुँदा ग्राहक र प्राधिकरणबीच विवाद बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्