–गोपालप्रसाद बराल
साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने ‘राखी’ (रक्षाबन्धन) पर्वको चहलपहल यसपालि मन्द छ ।
कोभिड–१९ सन्त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा नआएका, सीमाक्षेत्रको (नेपाल–भारत) आउजाउ सहज नभएको र सिनेमाघर पनि सञ्चालन नभएपछि यसपालि ‘राखी’को चहलपहल मन्दी देखिएको हो ।
मिथिलामा जनजन परिचालन भएर साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारी साउन शुक्लपक्ष लाग्नासाथै शुरु हुन्थ्यो । सिनेमाघरमा लगातार गुञ्जिने ‘राखी’ पर्व विशेषका गीत, हाटबजार जताततै बढ्ने चहलपहल, बाहिर भएका दाजुभाइको अवाइबारेको दिदीबहिनीबीचको चर्चा र रङ्गीवीरङ्गी राखी (विभिन्न रङका धागोमा कलात्मक बनाइएका डोरा) सजाइएका पसलले बढाउने चहलपहल नदेखिएपछि पर्व मुखमा आएजस्तो भान नभएको यहाँका सर्वसाधारण बताउँछन् ।
“पर्व आउन त अब पाँच दिनमात्र बाँकी छ”, यसअघिका साउन शुक्लपक्षको रमझम सम्झँदै महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी बन्दना साहले भन्नुभयो, “यसपालि न बजार चहलपहल, न दाजुभाइ राखी बाँध्न आउने टुङ्गो !” यस्तो निरास ‘राखी’ पर्व पहिलोचोटि अनुभूति गरिरहेकी २९ वर्षीया बन्दनाको भनाइ छ । मिथिलाका फुटपाथे पसल हउन् वा पान पसल..! ठूलठूला व्यापारिक प्रतिष्ठान होओस् कि चलचित्र घर..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेपछि तिनैले ‘राखी’ पर्वको सूचना दिन्थे । जताततै पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र नै राखीमय देखिने विगतको सम्झनाले यसपालि दिदीबहिनी र दाजुभाइ दुवैको मन कुड्याएको छ । यतिबेला पर्वको रमझम उत्कर्षमा हुनेबेला कोरोना सन्त्रासले दाजुभाइसँगको ‘मिलन’ का गीतका ठाउँमा यसपालि ‘बिरह’ का धुनले मन अमिल्याएको दिदीबहिनी बताउँछन् ।
“खै राखीका गीत के गुञ्जनु ? दाजुभाइको आउने कुरा भएन” भारतको मुम्बईमा काम गरिरहेका दाजु यसपालि पर्वमा आउन नपाउने खबरले भक्कानिएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी कक्षा १२ मा अध्ययनरत राधिका महतोले गहँभरि आँसु काँढ्दै भन्नुभयो, “अब कहिले गाडी खुल्लान् र दाजु आउन पाउनु होला !” मिथिलामा साउन शुक्लपक्षभरि नै दाजुभाइको सौर्य बखान गरिएका मौलिक गीतको मीठो धुन गुञ्जने परम्परा यसपालि कोरोना सन्त्रासले खोसेको छ । प्रत्येकजसो गाउँनगर बस्तीका हाटबजारमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) छान्न निस्कने दिदीबहिनीको चहलपहल पनि यसपालि खासै देखिँदैन । साउन शुक्लपक्ष लाग्नासाथ किशोरी र नवयौवना सखी–सहेलीको राखी तयारीको भेटघाट र चहलपहल खासै नदेखिएपछि पर्व आएको छनक नै नपाइएको आम मैथिल बताउँछन् ।
“दाजुभाइ को कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु पर्वविशेषमा अहिलेको तयारी हुनु पर्ने हो”, महोत्तरीकै भङ्गाहा नगरपालिका–५ माइती आएकी हरिप्रिया महतोले भन्नुभयो, “नजिक घर (छिमेकको धनुषा जिल्लामा पर्ने गाउँ) थियो र म त माइत आएँ, भारत कमाउन गएका दाजु आउनु हुने भएन, दाजुसँग फोनमा कुरा गरेर नै यसपालि सन्तोष गर्नुपर्ने भयो ।” महामारीको ब्याधिले काममा टाढा गएका दाजुभाइसँग यसपालि पर्वमा भेट नहुने भएपछि फोनमै कुरा गरेर कुशल बुझेर चित्त बुझाउनु परेको धेरैजसो दिदीबहिनीको साझा कुरो बनेको छ । यद्यपि नजिक वरपर नै घर भएका विवाहित चेलीहरु घर वरपर नै रहेका (माइती गाउँ नजिक भएका) दाजुभाइलाई सम्झेर ‘राखी’ को निम्ता दिँदैछन् ।
मिथिलामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्न आउने निम्ता दिने चलन छ । विवाहित दिदीबहिनीले आफ्नो र दाजुभाइको अनुकूलताअनुसार माइत पुग्ने वा आफ्नै घरमा चाड मनाउने टुङ्गो गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको त सँगै घर भएपछि यो समस्या रहँदैन । मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । दिदीबहिनीले राखी बाँधी दिएपछि दाजुभाइलाई खुवाइने मिष्टान्न परिकारबारे पहिलेदेखि नै योजना बनाउने गर्छन् ।
यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रायोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउँछन् । कोरोना सन्त्रासले टाढाटाढा रहेका दाजुभाइ दिदीबहिनीबीच यसपालि भेट हुने सम्भावना कम भएको छ । यद्यपि पछिल्लो चरणमा लकडाउन हटेपछि नजिक रहेका दिदीबहिनी र दाजुभाइ भेटको चाँजो मिलाउने पक्कापक्की गर्दैछन् । पर्व नजिकिँदै गर्दा दाजुभाइ, दिदीबहिनी र राखीको कारोवार गर्ने व्यापारी सीमित नै भए पनि व्यस्तता बढेको देखिँदो छ । सार्वजनिक यातायात सञ्चालन नहुनु र कोरोना सङ्क्रमणको सन्त्रास कायम नै रहनुले यसपालि राखीको कारोवार भने मन्दी भएको व्यापारी बताउँछन् ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलीलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलीको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीचबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताउनुभयो ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा ‘राखी’ राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ । यसपालि कोरोना सन्त्रासले यसमा अझ वृद्धि भएको यहाँका चेली बताउँछन् । पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाइ दिएपछि दाजुभाइले बस्त्रआभूषण र नगद दक्षिणास्वरुप चेलीलाई दिने मैथिल परम्परा छ ।
पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिरहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकालाई राखी बाँधीदिने गर्छन् ।
पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको भए पनि समाजमा हुने देखासिकी र आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै जानुले यो पर्व मिथिला क्षेत्रको साझा पर्व बनेको देखिन्छ । विगत वर्षका झै यसपालि महामारीको सन्त्रासले खुला वातावरण नभए पनि नजिक÷नजिक रहेका चेली र दाजुभाइले भने पर्वको तयारी अघि बढाएका छन् ।