व्यावसायिक खेतीमा लाग्दै झापाका युवा

<span class='c1'>व्यावसायिक खेतीमा लाग्दै</span> <span class='c2'>झापाका युवा</span>

झापालाई विविध कृषि उत्पादनको उर्वराभूमि मानिन्छ । ‘अन्न भण्डार’का रुपमासमेत चिनिएको झापाको एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफलमध्ये ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको सरकारी तथ्याङ्क छ ।

तर, व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या भने न्यून छ । अझैपनि झापाका अधिकांश किसान परम्परागत खेतीमै निर्भर हुँदा सोचे अनुसारको प्रतिफल किसानले लिन नसकेको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । व्यावसायिक र आधुनिक खेती गर्ने किसानले सोचेभन्दा राम्रो प्रतिफल लिइरहेको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवनारायण यादवले बताउनुभयो ।

गाउँपालिका– ७ डाडाँगाउँको मदन कृषि फार्म गाउँपालिकाकै नमूना भएको यादवले बताउनुभयो । करिब १७ वर्षसम्म विदेश बसेर फर्कनुभएका मदन लिम्बूले अहिले सो ठाउँमा ३४ बिघा क्षेत्रफलमा खेती गर्नुभएको छ । “विरिङ खोलाको बगरका रुपमा परिणत भएको काँसघारीमा उहाँले अहिले दुई हजार ४०० बोट कागती, चार हजार बोट सुपारी, त्यत्तिनै सङ्ख्यामा आँप लगाउनुभएको छ”, यादवले भन्नुभयो । लिम्बुले शुरु गरेको कृषि परियोजनामा ६० प्रजाति भन्दा बढीका बिरुवा लगाइएका कारण गाउँपालिकाकै नमूना कृषि फार्म बनेको छ । झण्डै रु दुई करोडको लागतमा सञ्चालनमा ल्याइएको सो फार्ममा अहिले मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गरिँदै आएको छ ।

दुई वर्षदेखि सञ्चालनमा आएको मदन कृषि फार्ममा लगाइएका कागतीले उत्पादन दिन शुरु गरेको छ । उता दमक नगरपालिका–२ का नेत्रप्रसाद जवेगुले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । सात वर्षदेखि नियमित च्याउखेती गर्दै आउनुभएका उहाँले मासिक रु पाँच लाखको हाराहारीमा आम्दानी लिने गरेको बताउनुभयो ।

जिल्लाकै उत्कृष्ट किसानका रुपमा जवेगुले आर्थिक वर्ष २०७६÷७७ मा जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट रु ३३ लाख ७९ हजार अनुदानसमेत हात पार्नुभयो । च्याउ पकेट कार्यक्रमका लागि सो रकम अनुदानमा पाउनुभएका उहाँले अहिले दैनिक एकदेखि डेढ क्वीटल च्याउ बिक्री गर्दै आउनुभएको छ ।

करिब १५ कठ्ठा जमिन भाडामा लिएर च्याउखेती गर्दै आउनुभएका उहाँको च्याउ उद्योगमा नियमित पाँच र ज्यालादारीमा पाँच जनाले रोजगारी पाएका छन् । कमल गाउँपालिका–२ मा रहेको श्री आइपीएम आलु ब्लक सञ्चालन समितिले समेत जिल्लामै उत्कृष्ट खेती गरेको भन्दै जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट रु ३० लाख ५२ हजार अनुदान रकम लिएको छ । सो समितिले पनि आलुखेतीका लागि रकम लिएको हो । कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र कारितास नेपालसँग गरेर सो आइपीएम आलु ब्लक सञ्चालन समितिले झण्डै रु ४० लाख अनुदान लिएको छ ।

पचास प्रतिशत किसानको सहभागिता रहने गरी सो समितिले अनुदान रकम लिएको समितिका कोषाध्यक्ष टङ्क कटुवालले बताउनुभयो । त्यहाँका किसानले ६४ बिघामा आलुखेती गरेका थिए । सामूहिक प्रयासमा गरिएको आलुखेती जिल्लाकै नमूना भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमार्फत नै अनुदानको रकम पाउने अर्काे संस्था हो बाह्रदशी गाउँपालिका–७ मा रहेको दुर्गामाता केराखेती तथा कृषि फार्म । सो संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रमका लागि रु ३५ लाख अनुदान लिएको छ । संस्थाले रु ३५ लाख फार्मको लगानी रहने गरी सो रकम अनुदानमा लिएको हो ।

बाह्रदशी गाउँपालिका–५ को हरित क्रान्ति मकै ब्लक विकास कार्यक्रम सहकारी संस्थाले मकैखेतीका लागि रु २४ लाख ६८ हजार अनुदान लिएको छ । सय हेक्टर क्षेत्रफलमा मकै उत्पादन गर्ने भन्दै सो सहकारीले सरकारबाट रकम अनुदानमा लिएको हो । शिवसताक्षी–१ मा रहेको च्याउखेती किसान समूहले पनि २३ लाख ५५ हजार रुपैयाँ च्याउ खेतीका लागि राज्यबाट अनुदान लिएको छ । समूहले दश हजार केजी च्याउ उत्पादन गरेको छ ।

कृषिमा राम्रो काम गरेर सरकारबाट अनुदान लिने झापामा ५८ वटा फार्म, किसान समूह, कृषि सहकारी छन् । जिल्लामा सञ्चालित त्यस्ता फार्मले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा रु चार करोड बढी अनुदान रकम लिएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्