उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ ।
वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोमबार राहत रकम प्रदान गरेको हो ।
वर्षाका कारण घरमा क्षति पुगेका व्यवसायी जागिरमान विश्वकर्मा र सुधीर शाक्यलाई रु २५÷२५ हजार र बोलेरो दुर्घटनामा सामान गुमाएर क्षति व्यहोरेका गयकुमार बजिमयलाई रु १० हजार सहयोग प्रदान गरिएको सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पीडित व्यवसायीलाई सङ्घले राहतवापत चेक हस्तान्तरण गरेको छ ।
वाणिज्य सङ्घको तर्फबाट यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्राकृतिक विपत्ति तथा दुर्घटनाको मारमा परेका व्यवसायीलाई रु एक लाख ५५ हजार राहत प्रदान गरेको सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिनुभयो । यसअघि बोलेरो दुर्घटना हुँदा क्षति पुगेका व्यवसायी फुर्वा शेर्पालाई रु १० हजार, आगलागीपीडित गोविन्द कटवाललाई रु २० हजार र रोशन सैँजूलाई रु २५ हजार तथा ट्रक दुर्घटना व्यहोरेका हिराकाजी खत्रीलाई रु ४० हजार राहत प्रदान गरिएको जनाइएको छ ।
वाणिज्य सङ्घले स्थापना गरेको राहत कोषमा सङ्घका पदाधिकारीले वार्षिकरूपमा जनही रु ५०० जम्मा गर्ने र पीडित व्यवसायीलाई प्रदान गर्ने व्यवस्था छ ।