विराटनगर । विराटनगरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा र बाँकीको अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार दिउँसो स्वाब संकलन गरेर नोबेल मेडिकल कलेजको प्रयोगशालाबाट साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो । घरमै रहेको अवस्थामा राति ९ बजे वृद्धको मृत्यु भएको हो ।
यसैगरी विराटनगर म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको समेत मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार उपचारका लागि गत कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो ।
नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो ।
बिहीबार मात्रै वीपी प्रतिष्ठान धरानमा तीनजनाको मृत्यु भएको छ । योसँगै पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।