खै के सुर चढेर हो कुन्नि ! आफ्नो गाउँलाई मुटुभित्र बोकेर हिंडेको थिएँ, आजभन्दा धेरै पहिले । त्यो बेला थाहा थिएन मलाई, मेरो गन्तव्य कहाँ पुगेर टुंगिन्छ । हिंड्दाहिंड्दै म विराटनगरमा आएर थचारिन पुगें । मैले पनि त्यो समयमा आफ्ना भावनाहरूलाई पंक्तिबद्ध कविताको मालामा उनेर विद्रोहको भाषा बोल्ने चेष्टा गर्दै थिएँ । यही क्रममा कवि मीनकुमार नवोदितसँग मेरो भेट भयो । हाम्रो भेट वाणी प्रकाशनको सभा हलमा आजभन्दा ७–८ वर्ष अगाडि भएको थियो । कुरा बुझ्दै जादाँ पछि थाहा भयो उनी पनि खोटाङकै बासिन्दा रहेछन् । हाम्रो सम्बन्ध बाक्लिँदै जान थाल्यो । यो ७–८ वर्षको अन्तरालमा मैले उनको व्यक्तित्व नजिकबाट नियाल्न पाएको छु । सधैं परिश्रम गर्नमा रमाउने कवि नवोदित उनका कविता जस्तै कोमल हृदय भएका व्यक्ति हुन् । उनी कोही कसैको मन दुखाउन चाहँदैन, कसैको आँखाको तारो बन्न चाहँदैन, बरु चाहन्छन् सबैको आँखाको नानीभित्र पस्न । उनी कवि मात्र नभई सफल पत्रकार पनि हुन् । मलाई त लाग्छ उनको पत्रकारिता पेशा होइन समाजसेवा हो । सूचनाको माध्यमबाट पनि उनले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । विशेष गरेर उनको कलम विकास निर्माण र आर्थिक सम्बृद्धिमा सशक्त बनेर देखा परेका छन् । सामाजिक विकृति र विसंगतिमा पनि त्यतिकै कलम चलाउन सक्ने पत्रकार नवोदित कवि हृदयमा भने आफ्नो गाउँको तस्बिरलाई सदा छातीभरि सजाएर हिंड्छन् । कहिले नसकिने गाउँको पीडालाई छताछुल्ल पारेर कृतिकारको रुपमा देखापरेका छन् तपाईं हामीमाझ कवि मीनकुमार नवोदित । ‘झरीले रुझेको गाउँ’ उनको दोस्रो कवितासङ्ग्रह हो ।
सायद आँखामा आफ्नी आमाकी स्पष्ट विम्ब देखापरेको हो भने, कविता यति शक्तिशाली बनेर आउने थिएनन् होला, किनकि कविता हृदयको भाषाले लेखिन्छ । आज हामी आमाको काखमा बसेर पनि आमाको अनुहार चिन्न सकिरहेका छैनौं । केवल हृदयमा प्रगाढताको साथ आमाको स्नेह साँचेर राख्यौं तर दिन सकेनौं आमालाई उन्मुक्ति । आज पनि आलै छ आमाको छातीमा बगेको रगत र निर्थुक्कै भिजिरहेकै छ गाउँ, आँसुको झरीले । जनयुद्धले निम्त्याएको यही यथार्थलाई कवि नवोदितले आफ्ना कविताहरूमा पोखेका छन् । उनी पीडाबोधले भरिएका शब्दहरूबाट कविता लेख्छन् र कसैलाई नबिझाउने गरी विद्रोहको भाषा बोल्छन् ।
सधैं घरको उन्नति प्रगति चाहने
म मृ्र्ख !
आज एक्लै कोसीको तीरैतीर
न्यायको भीख माग्दै हिंड्दैछु....
प्रायः सबै देशका कतिपय नागरिकहरू आफ्नै देशबाट लखेटिएका छन् । नेपालमै पनि भुटानी शरणार्थीहरूको जीवन कम कष्टकर छैन । अझ उनीहरूले त डायस्फोरिक जीवन बिताउन परेको छैन । आज कतिपय मुलुकका नागरिकहरू डायस्फोरिक जीवन बिताउन विवश छन् र पनि उनीहरूले आफ्नो जन्मभृ्मिलाई बिर्सन सक्दैनन् । यही वास्तविकतालाई कविले ‘आफ्नै घरबाट लखेटिंदा’ कवितामा बडो मार्मिक ढंगले उजागर गरेका छन् । जम्मा ६० वटा कविताहरूको संगालो रहेको यस कविता संग्रहमा कवि नवोदितले समग्र पीडाबोधलाई उजागर गर्न खोजेका छन् । यी पीडाहरू मृ्लतः युद्ध र द्वन्द्वले गर्दा जन्मेका हुन् भन्ने पक्षमा उभिएका छन् कवि नवोदित ।
कविलाई प्रस्ट थाहा छ युद्धले विध्वंशबाहेक केही निम्त्याउँदैन र पनि युद्धमा होमिन अग्रसर योद्धाहरूलाई स्नेहका साथ सम्झाउँछन् ।
कति लड्नु आफैंविरुद्धको युद्ध
आखिर हार्ने त को छ र यहाँ ?
तिमी हार्दा, म पनि हारिरहेको हुन्छु
म हार्दा, तिमी पनि हारिरहेको हुन्छौ ।
गाउँमा यत्रतत्र छरिएर रहेका विम्ब र प्रतीकहरूलाई टपक्क टिपेर कविताको पंक्तिमा थपक्क राख्न सिपालु यी कविले तिनै कोमल शब्दमार्फत् मनलाई बेसरी हल्लाउने गरी गाउँको वास्तविकता उदाङ्गो पारेका छन् । पोल्टाभरि मकै–भटमास च्यापेर अभावको गीत गाउँँदै पीडाको खेती गर्न हिंडेका फूलमायाहरूको कारुणिक कथालाई जस्ताको तस्तै उतारेका छन्
।
जीवनका भेटी चढाएर कुर्सीका व्यापार गर्नेहरूसँग आजित भएका छन् कवि र त गाउँका दुःखीलाल, सुखीलाल, धनबहादुर र मनबहादुरहरूलाई विनम्रताको साथ होसीयारी रहन अनुरोध गर्छन् । देशमा अझै त्रास हराएको छैन । जतिबेला पनि आतङ्कको लौरो टेकेर हिंड्नुपर्ने आमनेपालीको बाध्यतालाई स्वीकार गर्दै हाम्रो परिवर्तनकारी आन्दोलनहरू वास्तवमै गलत थिए भन्ने पक्षमा छन् कवि । देशमा प्रजातन्त्र स्थापनाकालदेखि यता धेरै आन्दोलनहरू भए, तर ती आन्दोलनबाट जनताले वास्तविक उपलब्धि केही पाउन सकेनन् । जनतालाई कुहिरोको कागझैं बनाइयो । त्यसैले त कवि भन्छन्
मुटु हराएको मनले
आस्था हराएको मस्तिष्कले
दृष्टि हराएको आँखाले
एउटा शाान्त लुम्बिनी खोजिरहेछु
जनताले चाहेको त शान्ति र अमनचयन हो । कुनै सत्ता होइन ।
गृहयुद्धको समाप्ति भए पनि युद्धका दोबहरू जस्ताको तस्तै छन् । अझ पनि गुराँस फुल्ने पाखाहरूमा फृ्लको सुगन्ध भेटिँदैन । भेटिन्छ त केवल बारुदका गन्ध । यही वास्तविकतालाई औल्याउँदै कवि भन्छन्, अझ गाउँ दुःखिरहेछ युद्धविरामलाई सम्झिएर । हजारौं वृद्ध आमाहरूका छोराहरू गुमेका छन्, यो युद्धले । कलिला बालबच्चाहरूका आमाबाबु गुमेका छन्, यौवन नारीहरूको सिउँदो पुछिएका छन्, प्रेमीप्रेमिका विछोडिएका छन् । यस्तो आतङ्कित समयमा कुनै प्रेमीले आफ्नो प्रियसीलाई निर्धक्क भएर कुनै प्रेमपत्र कोर्न नसक्ने वास्तविकता छ ‘आतङ्कित समय र प्रेमपत्र’ कवितामा ।
कहिलेकाहीं म आफूले आफैंलाई प्रश्न गर्छु । मान्छे किन कवि हुन्छन् ? सारा कुरालाई बिर्सिएर केका लागि कविता लेख्छन् ? यो उपभोक्तावादी युगमा तालीको भरमा कविको परिवार बाँच्न सक्छन् ? एक कविको अवसानपछि उसको परिवारको हालत कस्तो हुन्छ, भन्ने कुरा देखाउन खोजेका छन् कवि नवोदितले ‘एउटा कविको सम्झनामा’ कवितामार्फत ।
कविले भनेजस्तै यो विसंगत समयमा तपाईं हाम्रो जीवन पनि गणितको सूत्रजस्तै ठ्याक्कै कहाँ मिलेको छ र ? नमिल्दानमिल्दै पनि हामी विवश छौं जिन्दगीको सूत्र रटिरहन । सपना विछ्याएर बाँच्नु । आखिर कसलाई चाहना हुँदैन र ? धरतीभरि आफ्ना सुगन्ध फैलाउन । यही आशा र भरोसामा बाँचेका लाखौं युवाहरूका भविष्य हराएका छन् । भविष्य खोज्दाखोज्दै मान्छे विकृतिको बारीमा आतङ्कको हलो जोत्न पुग्छन् । यो समयमा आकाश पनि उदास भएर बूढीआमालाई टुलुटुलु हेरिरहन्छ । आकाशको मुहारभरि खुसीका रङ पोखिएको हेर्न चाहने बूढीआमा झुपडीभित्र बसेर आँसुको नदी बगाउन सिवाय केही गर्न सक्दिनन् । यही समाजमा छन् अरुका पाखुरीको कमाई खाएर बाँच्ने हर्के साहु र श्रम गर्दागर्दै पनि मुग्लान भासिएर उतै भूमिगत भएका ठृ्ल्दाइहरू । चाहना नहुँदानहुँदै पनि बालुवा उम्रने देशमा गएर आफ्ना गाउँको तस्बिर सम्झेर बाँच्ने मनहरू । कविले यस्तै मानवीय बाध्यता र विवशताहरूलाई आफ्ना कविताहरूमा अटाएका छन् । मान्छेले नै मान्छेलाई पीडाबोध गराउँदा रहेछन् । कवि नवोदितका कविताहरूमा यस्तै–यस्तै भावनाहरू छचल्किएका छन् ।
यी बुज्रुकहरू शान्तिको कामना गर्दै किन गर्छन् क्रान्ति ? सामाजिक सद्भावको कुरा उठाएर किन ठड्याउँछन् जातीय विभेदको पर्खाल ? आर्थिक सम्पन्नताको नारा घन्काउँदै किन भत्काउँछन् आफ्नै घरको छानो ? मलाई पनि कवि नवोदितसँगै उभिएर यी प्रश्नहरू गर्न मन लाग्यो । यस्तै अनुत्तरित प्रश्नको पहाडले थिचिएर कवि नवोदितले लेखेको हुनुपर्छ ‘युद्धको तयारीमा’, ‘फेरि एउटा बुद्ध चाहिएको छ’, ‘मान्छेहरू’, ‘ओसिला दिन र सेता परेवा’, ‘धमिलो आकृतिभित्रको देश’जस्ता कविताहरू ।
फरक प्रसंग र फरक परिवेशमा कवि नवोदित फरक–फरक तरिकाले प्रस्तुत भएका छन् । कवि घरि युद्धको तयारी गर्न थाल्छन् त घरि बुद्धको खोजी गर्न निस्कन्छन् । कहिले मनमायाहरूका प्रेमले रुझेर स्नेहका शब्द बर्साउन थाल्छन् त कहिले आफैं नभएको स्वैरकाल्पनिक दुनियाँमा पुगेर नियाल्न थाल्छन् यो रंगीन संसार । कवि नवोदित घरि हिमालसँग प्रित लाउन पुग्छन् त घरि सडकमा उभिएर गाउँबेंसीको गीत गाउन थाल्छन् । उनी गाउँको कहानी भन्दाभन्दै सहरको खोक्रो आडम्बरलाई यसरी उघारिदिन पुग्छन् ।
सुकिलो लुगा लगाएर
छाडा संस्कृतिको बर्को ओढेर
भोको पेटले
सभ्यताको नारा लगाइरहेछ सहर
कविहरूको हुलमा कवि नवोदित प्रस्ट चिनिन्छन् । उनको कविता लेख्ने आफ्नै शैली र शिल्प छ । उनी कोही कसैको नक्कल गर्न रुचाउँदैनन् र नक्कल गर्न जान्दैनन् पनि । कवि नवोदितको मलाई मन पर्ने पक्षनै यही हो ।
कविले देखेको र भोगेको गाउँको दुःख नै समग्र देशको दुःख हो । आशा हराएर चारैतिर निरासाको कालो बादल फैलिएको यो समयमा पनि कविको आशा हराएको छैन । दुख्दादुख्दै सपनामा समेत दुख्न थालेको जीवनलाई डो¥याउँदै उनी अक्षरको खोजीमा तल्लिन छन् । उनी आँसुले डुबेको कविता होइन, हाँसोले खुलेको कविता लेख्न चाहन्छन् । उनी खुसीका कविता निर्माण गर्न अक्षरको खोजी गर्न निस्केका छन् । उनका चोटैचोटले भरिएका शब्दहरू पनि यति कोमल छन् । काँडैकाँडाले भरिएका कविताहरू पनि यति सुन्दर छन् । यदि चोटविहीन शब्दहरूले कविता निर्माण गर्न पायो भने कवि नवोदितका कविताहरू अझ शक्तिशाली बन्नेछन् ।
जब देश दुख्छ तब कविको मन दुख्छ । जब देश हाँस्छ तब कविको मन फुल्छ । कविता लेखनको इतिहास र देशकाल परिस्थितिको समग्र अध्ययनबाट यही कुरा देखिन्छ । त्यसैले आग्रह गर्छु देश निर्माणमा लागिपरेका कर्मवीरहरूलाई । कवि नवोदितका कविताका पंक्तिहरू पढून् र बुझिदिउन् अब गाउँलाई आँसुको झरीले रुझाउन हुँदैन र रगतको भेलले देशलाई बगाउन हुँदैन । म अपेक्षा गर्छु कवि नवोदितका अबका कविताहरूमा फृ्लैफृ्लका सुगन्धले भरिएका होस् । कि फेरि पनि कविहरूलाई आँसुका कविता लेख्न बाध्य नपारियोस् ।
समग्र देशका पीडाबोधलाई ‘झरीले रुझेको गाउँ’ कवितासङ्ग्रहमार्पmत् सार्वजनिक गर्न सकेकोमा कवि नवोदितलाई सलाम !