विराटनगर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ बाट १९ जना खेलाडी छनोट गरिएको छ । आगामी पुस ११ देखि दाङको लमहीमा हुने प्रतियोगिताका लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो ।
झापाको काँकडभिट्टास्थित तुर्केनी खेल मैदानमा छनोट खेल गरिएको थियो । जसमा प्रत्येक टिमले २–२ वटा खेल खेलेका थिए । सोही क्रममा १९ जना छनोटमा परेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का सचिव तथा प्रशिक्षक मनोज कटुवालले जानकारी दिनुभयो ।
छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापाका १२ जना रहेका छन् । यस्तै, मोरङका चार र इलामका तीन जना रहेका छन् । झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता राजवंशी, एलिसा खडिया र स्मृति कटुवाल छन् ।
यसैगरी, इलामकी संगम तामाङ, जमुना कार्की र पायल मगर छनोटमा परेका छन् । मोरङबाट टीका साह, सलिना तामाङ, अंशु जैसवाल र भीमा कुँवर रहेका छन् । उनीहरु अहिले क्लोज क्याम्पमा प्रशिक्षण गरिरहेका छन् ।
प्रादेशिक क्रिकेट संघका सचिव कटुवालका अनुसार दुई दिनभित्र प्रदेश टिमका लागि १४ जना खेलाडीको अन्तिम सूची निकालिने छ । अन्तिम सूचीमा परेका खेलाडीलाई पुस १२ सम्म थप प्रशिक्षण दिइने प्रशिक्षकसमेत रहेका कटुवालले जानकारी दिनुभयो । बन्द प्रशिक्षण काँकडभिट्टा खेल मैदानमा भइरहेको छ ।
प्रदेश १ ले पुस १४ मा बागमती प्रदेशसँग पहिलो खेल खेल्नेछ । १५ गते सुदूरपश्चिम र १६ गते गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा सशस्त्र प्रहरीको एपिएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन् ।
पुस ११ देखि १७ गतेसम्म दैनिक दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ । १७ गते समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो र समूह बी को उपविजेता र समूह ए को विजेताबीच सेमिफाइनल खेल हुनेछ । १९ गते फाइनल खेल हुने क्यानले जनाएको छ ।