सुनसरी, आषाढ १८ गते।
बिहीबार सुनसरी जिल्लाको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएका छन्। घाइते सबै जनाको अवस्था सामान्य रहेको छ।
कोशी राजमार्गस्थित सुनसरीको धरान नगरपालिका ८ मा अपरान्ह साढे ४ बजे बस तल सडकबाट खस्दा चालकसहित ११ जना घाइते भएका छन्। घाइते सबैको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराइएको छ। काकडभिट्टाबाट धरान आउदै गरेको को. १ ख २७५२ नम्बरको बस अचानक नियन्त्रण बाहिर गएर सडकबाट तल खसेको थियो।
यसअघि दिउँसो १ बजेतिर सुनसरीकै भोक्राहा ७ स्थित पूर्वपश्चिम राजमार्गमा अल्फाबेट खुल्न नसकेको ३७७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नरसिहं १ की ५५ वर्षिया किसनी देवी उराव घाइते भएकी थिईन्। उनलाई उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर ल्याइएको छ।
त्यस्तै सुनसरीकै इटहरी नगरपालिका १९ स्थित पूर्वपश्चिम राजमार्गमा अपरान्ह साढे ३ बजे माइक्रोको ठक्करबाट ट्याम्पोमा सवार बक्लौरी ५ बस्ने ४० वर्षिय राम नारायण चौधरी घाइते भएका छन्। उनी सवार को. १ ह १७९ नम्बरको ट्याम्पोको पछाडी पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को. १ ज १०६१ नं. को माइक्रो ठोक्किएको थियो।