विराटनगर । प्रदेश १ का आन्तरिक तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले बढ्दो विषादीको प्रयोगले प्राणी तथा जीवचक्रमा असर पर्दै गएको बताउनु भएको छ । नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा शनिबार आयोजित सेमिनारको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले समाज विकाससँगै प्राणी र जीवहरुको चक्रमा नकारात्मक प्रभाव परिरहेको बताउनु भएको हो ।
उहाँले विकासको मापन गर्ने तरिका गलत हुँदा पर्यावरणमा नकारात्मक प्रभाव पर्ने गतिविधि बढ्दै गएको बताउँदै त्यसको अनुसन्धानमा सम्बन्धित क्षेत्रका विज्ञहरुले ध्यान दिनुपर्ने बताउनुभयो । समाज विकासका क्रममा आएको नयाँ प्रविधि, संरचना, पूर्वाधारले प्राणीको जीवनमा पारेको प्रभावलाई कम गर्नसक्दा मात्रै वातावरण र पर्यावरण सुरक्षित रहने बताउनुभयो ।
सरकारले प्राणीको सुरक्षाका लागि खुल्ला चिडियाखानाको अवधारणा अगाडी सारेको बताउँदै मन्त्री कार्कीले प्राणीबाट मानव नभई मानवबाट प्राणीको अधिकार र सुरक्षा सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।
उहाँले प्राणी शास्त्रीहरुले आफ्नो अध्ययन र अनुभवलाई व्यवहारिक रुपमा प्रमाणित गर्न निरन्तर अनुसन्धान गर्नुपर्ने सुझाव दिनुभयो । मानवले गर्ने दैनिक गतिविधिका कारण प्राणीमा के असर गरिरहेको छ, जसले पर्यावरणमा नकारात्मक प्रभाव पार्छ भन्ने सचेतना आम नागरिकमा आवश्यक रहेको मन्त्री कार्कीको भनाई छ । त्यसका लागि सम्बन्धित क्षेत्रका अध्येताले आफ्नो अनुसन्धानमार्फत प्रमाणित गरिदिनु दायित्व हुने उहाँको भनाई थियो ।
प्रदेश सरकारले यस्ता अनुसन्धानलाई प्राथमिकतामा राखेर त्यसको प्रतिवेदन दिए सम्पतिको रुपमा ग्रहण गर्ने मन्त्री कार्कीको दावी थियो । विश्वविद्यालयहरु ख्ण्डहरु बन्दै गएको बताउँदै मन्त्री कार्कीले प्राध्यापकहरुले विश्वविद्यालयलाई अनुसन्धान केन्द्रमा परिणत गर्नसक्ने बताउँदै त्यसका लागि निरन्तर अनुसन्धान र समयसापेक्ष पाठ्यक्रम विकासमा लाग्नका लागि सुझाव दिनु भएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइरालाले पूर्वाधार निर्माणसँगै प्राणीहरुको वासस्थानमा परेको प्रभावले पर्यावरणमा नकारात्मक प्रभाव बढ्दै गएको बताउनुभयो । उहाँले अन्तरनिर्भर जीवनचक्र प्रणालीको सुरक्षा मानवले मात्रै गर्नसक्ने भएकोले त्यसका लागि आवश्यक पहल र कदम लिनुपर्ने जरुरी परिसकेको बताउनुभयो । समय सापेक्षको अनुसन्धान र अनुसन्धानको निष्कर्षका आधारमा तयार पारिएका पाठ्यसामाग्री अध्ययनमा प्राज्ञिक क्षेत्रले संयुक्त पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।
सेमिनार कार्यक्रमको अवसरमा प्राणी शास्त्रको महत्व बढाउनका लागि निरन्तर खोज र अनुसन्धानका क्षेत्रमा क्रियाशिल १२ जना अग्रजलाई सम्मान गरिएको थियो । जसमध्ये डा. आशिषकुमार घोष र प्रा.डा.राधाकृष्ण खरेवारलाई मरणोपरान्त सम्मान गरिएको थियो । अन्य सम्मानित हुनेहरुमा योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देव हुनुहुन्छ ।
एकद्विवसीय सेमिनारमा डा.भरतराज सुब्बा र प्राध्यापक गीता श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको जुलोजिकल सोसाईटी प्रदेश १ का अध्यक्ष महेन्द्र महर्जनले जानकारी दिनुभयो । कार्यपत्रमाथि टिप्पणी, सुझाव तथा छलफल गरिएको थियो ।