होम सुवेदी
विराटनगरको मध्य गर्मीमा मध्य दिनमा मैले बसबाट ओर्लनासाथ यसो बजारतिर हेरें । पर पर तिर एकदुई मान्छेहरु मात्र यसो छाता ओढेर हिंडेका देखिन्थे । बजार सुनसान थियो । पानपसलहरु पनि बन्द थिए । एक दुई ओटा रिक्सावालाहरु पर पर रुखका फेदमा रिक्सा अड्याएर छायामा शीतल तापेर बसेका जस्ता देखिन्थे ।
" मधुमारा जानु छ । जाने हो ?" सोधें एक रिक्सालाई ।
रिक्सावालाप्रति मेरो धारणा राम्रो थिएन । सारै मनोपोली हुन्छ यिनीहरुको । कसैको नियन्त्रणमा यी हुँदैनन् । भारतको रेलवेस्टेसनका कुल्ली र यहाँका रिक्सावाल एकै मतिका हुन्छन् भन्ने मेरो मनमा गहिरो छाप रहेको थियो । दिउसो भरि कमाएको जति साँझ पर्नासाथ भट्टीमा पसेर सकिहाल्छन् भन्ने सोच मेरो थियो र अहिले पनि त्यही सोच छँदैछ । यो सोच केही मात्रामा यथार्थ पनि हो ।
रिक्सावाल युवक जस्तो देखिन्थ्यो ।
"जाने । हाम्रो पेसा नै यही हो अनि नगएर के गर्ने ?" उसले भन्यो ।
प्रचण्ड गर्मीमा रिक्सा पाउनु नै मुस्किल थियो अझ यो मध्य दिउसो ता झन् कता हो कता । यसैले मैले उसलाई कुनै मोलतोल नगरी लाने विचार गरें । तर फेरि मेरो मनले मानेन र सोधें- "कति लिन्छौ ?"
"रेट २५ रुपिया हो । त्यही रेटको रकम दिनु होला न ।" उसले भन्यो ।
अलिक दलाली गरिहेरेको भए सायद २० मा जान सक्थ्यो होला तर यो भयानक गर्मीमा केको दलाली गर्नु र मैले सोचें अनि "लौ त जाऊँ" भनेर रिक्सा चढें ।
ऊ रिक्सा हाँक्न थाल्यो । घामको तातोले पोलेर कालो भएको उसको पिठिउँ मेरा आँखाका अघि आइरहेको थियो, जसमा पसिनाका थोपाथोपा उम्रिरहेका थिए । अनुहारलाई थोरै देखिने गरी गम्छाले ढाकेको थियो । बेला बेला पसिना पुछेर रिक्सा कुदाइरहेको थियो । अनि यो दृश्यले मेरो मनमा पलाएको रिक्सावालाप्रतिको सोच मेटिन लागरिहेको थियो । यस्तैमा मलाई सारै तिर्खा लागेकोले नजिकैको एक दोकानमा उसलाई रोकाएँ र एक बोतल चिसो खाएँ । मलाई दया लाग्यो रिक्सावालप्रति अनि उसलाई पनि एक बोतल दिएँ । बडो अप्ठेरो मानेर उसले पनि खायो ।
मलाई उसले गन्तव्यमा पुर्याइदियो ।
पच्चिस रुपियाँ द्रिंदै उसलाई बिदा गर्न खोजेकोमा उसले प्रतिवाद गर्यो । "मालिक दस रुपियाँ मात्र दिनुहोस् ।"
"किन पच्चिस भनेको होइन र ?"
"हो हुन ता, तर मैले १५ रुपियाँको चियो खाएँ । त्यो कटाएर दिनुहोस् ।"
"त्यो ता मेरै तर्फबाट तिमीलाई चिसो खुवाएको नि । तिमीलाई यस्तो गर्मीमा रिक्सा कुदाएकाे देखेर मलाइ सारै दया लाग्याे । अनि खुवाएकाे नि त चिसाे । पुरै लैजाऊ ।"
"मालिक म आफ्नै पसिनाको निमक खान्छु । दयाबाट म बाँचेकाे छैन र म भिखारी पनि होइन मालिक ।"
उसको वचन बडो कडा थियो । मैले कति कर गरेर पनि उसले मैले दिएको जति पैसा लिएन । मलाई भने बडो अप्ठेरो लागिरह्यो । अब यो पैसा गोजीमा हालौ कि के गरौं म बिलखबन्दमा परिरहें ।