जीवन, संस्कृती र रक्सी

जीवन, संस्कृती र रक्सी

दीपक शम्चू
केही समय पहिले प्रदेश नं. एकको सामाजीक विकास मन्त्री उषाकला राईले घरेलु रक्सी ब्राण्डीङ्को सम्भाव्यता अध्ययन गर्न टोली गठन गरे । त्यस लगतै सामाजिक सञ्जालमा धेरै जसोले विरोध गरेको देखियो । घरेलु रक्सीले नेपाली समाजको सांस्कृतिक महत्व बोकेको छ । मेरो जीवन भोगाइको एक अनुभूतीलाई सम्झी हेर्दा अहिले म जुन अवस्थामा छु यो रक्सीकै देनले गर्दा सम्भव भएको हो । विदेशी ब्राण्डका रक्सीहरु खुलेआम बिक्रि वितरण भइरहँदा घरेलु रक्सी चाँही किन ब्यण्ड गरिएको होला ? दुग्ध सहकारी संस्था सञ्चालन गर्न सकिने यो मूलुकमा मदिरा सहकारी संस्था सञ्चालन गर्न किन नसकिएको होला ? प्रस्तुत लेखमा यीनै विषयहरुलाई सांस्कृतिक पाटो, मेरो जीवन भोगाईको साटो र हाम्रो व्यावहारीक बाटोका दृष्टिले उजागर गर्ने प्रयास गरिएको छ ।
मानव जीवनले जङ्गली अवस्थाबाट आवासीय जीवन व्याथित गर्न थालेसँगै रक्सीको पनि आविष्कार गरेको बुझ्न सकिन्छ । जुन समयमा औषधीको विकास भएको थिएन त्यो समयमा मानिसले रक्सीलाई औषधीको रुपमा सेवन गर्ने गरेको देखिन्छ । अहिले पनि हाम्रो समाजमा धेरै चिसो लागेमा, जिउ दुखेको बेला, रसायनीक औषधीले काम नगरेमा तीनपाने वा पानी कट्टुवा रक्सी पारेर, ज्वानो, मेथी, जीरा आदि अनेकन मसलामा झानेर औषधीको रुपमा रक्सी खाने चलन छ । यस्तो औषधीले काम पनि गर्छै। यही औषधीय गुणले गर्दा नै विस्तारै-विस्तारै हाम्रो सांस्कृतीक चालचलनमा रक्सीको प्रयोग हुन थालेको होला भन्ने आनुमान गर्न सकिन्छ ।
आदिम कालदेखि बसोबास गर्दै आएका नेपाली समुदायमा बच्चा जन्मेदेखि मृत्यु संस्कारसम्म रक्सीको अनिर्वाय आवश्यकता पर्छ । पित्रीपूजा तथा अन्य सांस्कृतिक पूजापाठमा पनि रक्सीकै आवश्यकता पर्दछ । घरमा आउने पाहुनाहरु समेतलाई जाँड वा रक्सी दिएर पाहुनाको स्वागत सत्कार गर्ने चलन छ । चियाको चलन त आयतित हो । आदिम सभ्यताको विकास क्रमसँगसँगै जाँड र रक्सी उत्पत्ति भएकोले गर्दा मानव संस्कार र संस्कृतिमा समेत जाँड रक्सीको अनिर्वाय आवश्यकता भएको देखिन्छ । किरात समुदायमा बच्चा जन्मनसाथ जाँड वा रक्सी चटाउने चलन छ । सुत्केरी आमालाई पोषणको लागि जाँड झानेर खान दिइन्छ भने दुखेको जीउमा ताजगीपन ल्याउनको लागि रक्सी झानेर खान दिइन्छ । जाँडले जुन काम गर्छ बिअरले त्यो काम गर्न सक्दैनँ । तीनपाने रक्सीको काम कुनै पनी बिदेशी ब्राण्डेड रक्सीले गर्न सक्दैन । घरेलु जाँड रक्सीमा पाइन्ने प्राकृतिक गुण आयतित जाँड रक्सीमा पाइदैन । बच्चाको न्वरान गर्दाहोस्, छेवर, पास्नी गर्दा, विवाह गर्दा सबै कार्यमा जाँडरक्सीको आवश्यकता पर्छ । अझ किराती समुदयमा त रक्सी र जीवन आपसको पुरक जस्तै बनेर रहेको देखिन्छ ।

म किरात समुदायको एकदमै असामान्य परिवारमा जन्मेको भाग्यमानी सन्तान हुँ । मेरो दौतरीहरुको आप्पा हुनुहुन्थ्यो । उहाँहरुले ज्याला मज्दुरी गरेर, मधेशको भारी बोकेर, या भुटाङ् सिलाङ गएर भए पनि पैसा कमाएर ल्याउनुहुन्नथ्यो, तर मेरो त आप्पा हुनुहुन्नथ्यो । आप्पाको जिम्मेवारी पनि आमाले नै लिनुभएको थियो । पाखोबारीमा उब्जनी हुँदैन थ्यो । उब्जनी नभएपछि गाईभैँसी पालेर दूध बेच्ने कुरा सम्भव भएन । ज्याला मज्दुरी र भारीबोक्ने काम छोरीमान्छेको थिएन । त्यो काम छोरा मान्छेको थियो । छोरीमान्छेले ज्याला थोरै पाउने । आमाले आफ्नो सांस्कृतिक विरासत बोकेर आएको सहज काम अपनाउनु भयो । जाँड रक्सी बनाउने । आफूँ जे काममा निपुण भइन्छ त्यही काम गरेमा सहज र सजिलो हुन्छ । आमाले यहीँ कुरा बुझ्नुभएको थियो र नै बुबाको स्वर्गे भएपछि आमाले हामी चारचार सन्तानको पालनपोषण गर्ने जिम्मेवारी रक्सीको कारोबार गरेर गर्न थाल्नुभयो तर पुलिसबाट असहज थियो । सँधैजसो पुलिसबाट लुकीहिँड्नु पथ्र्यो । लुकिलुकि पसलसम्म रक्सी पुर्‍याउनु पर्‍थ्यो । पसलमा रक्सी लैजानेबेला आमाले मलाई कहिल्यै घर छोड्नु भएन; साथै लिएर जानुहुन्थ्यो ।

पुलिसहरुले मेरो आमाले बोकिराख्नुभएको थुम्सेबाट रक्सीको जर्कीन झिकेर आमाको सपनासँगै मेरो भविष्य घटघटी पोखेको दृष्य सम्झदा अहिले पनि म आत्तिन्छु । झाडीमा लुकेर आमाले मलाई काखमा च्यापेर मेरो मुख थुनिदिदै मात्र आसुँ बगाउनु हुन्थ्यो । जति रक्सी पोखिन्थ्यो सायद त्यो भन्दा धेरै आमा र मेरो आसुँ बग्थ्यो होला । तै पनि आमा भनेको त आमा नै हुन नि ! आमाले हार मानेको दिन मेरो जीन्दगी बर्बाद हुन्थ्यो । आमाले पोखिएको सपनालाई हरतरहले बटुलेर फेरि उठाउनुहुन्थ्यो ।
अचानक आमा बित्नु भो । पुलीसको हैरानी सक्कियो । मेरो पाइतालाले टेक्ने जमिन तिनै थियो । म हिँड्ने बाटो पनि उहीँ थियो । तर मेरो जिन्दगीको साटोले भने नयाँ मोड् लियो ।

नेपालमा बर्षेनी विदेशी रक्सीको आयत बद्दो छ । हरेक साल रक्सीकै लागि भनेर अरबौ नेपाली रुपिया विदेशिने गरेको देखिन्छ । सबै भन्दा अच्चम्म त यो छ कि नेपाल जस्तो गरीब मुलुकका जनताले एक बोतलकै छ लाख भन्दा बढी रकम तिरेर रक्सी सेवन गर्छ । विदेशी रक्सी पिउनेहरुको शानधान नै अलग । जसलाई सरकाले पनि खुलेआम पीउन छुट दिएको छ । लोकल थर्रा पिउनेहरु पाखे; जस्लाई सरकारले पनि बन्देज लगाएको छ । लुकिलुकी पीउनुपर्छ । पुलिसले समातिहालेमा कानूनि सजायको भागिदार हुनुपर्छ ।
जाँडरक्सीको दुरुपयोग गर्दा हानी त पुर्‍याउछ नै । छिमेकमा एकजना सोझो र इमान्दार काका हुनुहुन्थ्यो । गाउँघरमा सबैसँग मिल्नसक्ने, कहिल्यै कोहीसँग झै-झगडा नगर्ने, परेको बेला सबैलाई सहयोग गर्ने तर काकी मुखाली हुनुहुन्थ्यो । काकाकाकीको सँधैजसो ठाक्कठुक्क परिरहन्थ्यो । काकीको सँधैजसोको कचकचले काकालाई दिक्क लाग्न थालेको थियो । एकदिन काकाले शरीरले थमिउन्जेल रक्सी धोक्नु भएछ र घरका सबैलाई पिट्न थाल्नुभएछ । आफू अगाडि जे भेटिन्छ त्यसैले हान्न थाल्नुभएछ । छोराछोरी सबै भागरेभाग भयो । काकीले कसोकसो गरेर समात्नुभएछ । कम्मरमा भिरीराखेको खुकुरी झिकेर काकीको टाउकोमै छप्काउनु भएछ । काकीपनि भुलभुल्ती निस्कन थेलेको रगत हातले थुन्दै पत्ताटाप कस्नु भयो । घर सुनसान बन्यो । काका सिक्कुवाको खटियामा डङ्ग्रङ्ग पल्टिनु भयो । खाटमा मस्तसँग घ्वार्रर... घ्वार्रर.. घुर्रन थाल्नुभएको काकालाई पुलिस आएर हतकडी लगाइ घिस्याउन थाले ।

थानाको पुलिसले काकालाई जिल्ला चलान गर्ने भए । प्रतिबन्धित मदिरा सेवन गरेको कसुरमा मुद्दा, घरपरिवारलाई कुटपिट गरेकोमा फौजदारि अभियोगको मुद्दा, पुलिसलाई तथानाम गालिबेइज्जत गरेकोमा मानहनी मुद्दा । विचरा काका, हतकडि सहित थानामा घोसेमन्ट लगाएर चुपचाप हुनुहुन्थ्यो । गाउँका ठूलाबडा सबै थाना गए । काकालाई एकपटककोलागी माफ गरिदिनुहोस् भनेर पुलिसलाई सबैले बिन्ति बिसाए । गाउँलेको कुरामा थानाको इनचार्ज सहिसाबले सहमत जनाए तर ससर्थ सहित । सर्थ थियो थानाका सबै पुलिसलाई खसीको मासु खुवाउनु पर्ने । काकाको खसी किन्न सक्ने औकातै कहाँ थियो र । सबैले पैसा भेला पारे, गाउँभरी खसी खोजेर ल्याइयो । फेरी थानाका सहीसबको आदेश भयो । खसी नाथामा काट्न मिल्दैन । कसैको घरमा लगेर काट्ने उतै पकाउने । चिउरा र तीनपाने रक्सीको पनि व्यवस्था गर्ने । हामी उतै आउछौँ । गाउँका सबैले पुलिसले जसरी नै “हुन्छ सबा !” भन्दै सहीसाबको आदेश माने तर गाउलेहरुले सहिसाबलाई सलोटचाही हानेनन् । किनकी उनीहरुले सलोट हान्न जानेकै थिएनन् ।
साँझपख तिनै काकाको घरमा पुलिसको ठूलै भोज चल्यो । काकीलाई स्वाथ्य चौकी लगेर टाउकाको चोटमा एघार टाका लगाएर ल्यइसकेको थियो । सहीसबले काकीलाई खुबै माया गर्दै सुमसुम्याउँदै भन्यो - ”मासु खानुहोस् शरीरबाट यति धेरै खुन बगेको छ । तङ्ग्रिनु परेन ।“

“शहर, हामीले त बाख्राको मासु खान मिल्दैन त । माछक्मा रिसाउछ ।”- काकीले सहीसाबलाई प्रतिउत्तर दिनु भयो । यसरी काका थानाबाट छुट्नुभयो ।
औषधीय गुणले युक्त कुनचाही जडिबुटीमा नशा हुँदैन होला ? हामीले खाने हरेक कुरामा नशा हुन्छ । धेरै त जे कुरा पनि बीष हुन्छ नि ! हैन र ?
जाँडरक्सी बिनाको भोज भतेर, पार्टी हामीलाई खल्लो लाग्छ । साथीभाई इष्टमित्रको भेटघाटमा रक्सी भए अझ रमाइलो हुने । अनियन्त्रित रक्सी सेवनको कारण झै-झगडा हुन्छ । पञ्च भलाद्मी बसेर मिलापत्र गर्नु पर्‍यो, रक्सी नै चाहिन्छ । दुई कट्ठुवा रक्सी राखेर माफी मागेपछि तथानाम गालिगलौज र मारपिट गरेको कसुरको दण्डसजाय फुक्का हुन्छ । सरकारी योजनाहरु पार्नुपर्‍यो भने मदिरापसलमा नपुगी सम्भावना हुँदैन । हरेक जसो कर्मचारीको सरुवा बढुवाको निणर्य भट्टीपसलको न्याप्किन पेपरमा हुनेगर्छ । डेटीङ् हिँडेका नवयौवना केटाकेटीले कण्डम बोक्न बिर्सन्छ तर रक्सी बोक्न बिर्सदैन । डेटिङ्देखि सेटिङसम्म रक्सीले महत्वपूणर् भूमिका खेलिरहेको हुन्छ । रक्सी हाम्रो जीवनको ब्यावहारिक बाटो बनेको छ ।

पशुपालन गर्नेलाई सरकारले सहुलियत दरमा ऋण लगानी गर्छ । दुग्ध सहकारी संस्था खोलेर घरघरबाट किसानहरुको दूध बटुलेर बजारिकरण गरिन्छ । यी काम गर्नमा नेपाली जनतालाई छुट छ । किनकी ”दूध, दही, घ्यू खाँदा राम्रो हुन्छ जीऊ;“ भनेर बखान गरियो तर मदिरा सेवनले हाम्रो स्वास्थ्य बिग्रन्छ’ भन्ने भ्रामक मानसिकता फैलाइयो । जाँडरक्सी उत्पादनले समाजमा दुरव्याशनी बढ्छ, सामाजिक रीतिथीति बिग्रन्छ भनेर नेपाली समुदायको सांस्कृतिक पहिचानलाई नामेट पार्ने दृष्धटता किन गरियो ? सोचनै पर्ने बेला भएको छ । घरेलु रक्सीको खराबी पाटोमात्र देखाएर बन्देज गर्ने र स्वदेशी जनतालाई सास्ती दिने विदेशी रक्सीलाई वैधानीकता दिएर विदेशी पोस्ने नीति नेपालमा कसरी रहन गयो ? खोजको विषय बनेको छ ।

रक्सीबिना हाम्रो सांस्कृतिक कार्य सम्भव छैन । वैधानिक रुपले घरेलु रक्सीको कारोबार हुँदा अधिकाशं नेपालीहरुको आयस्तरमा सुधार मात्रै आउँदैन यसले देशको अर्थतन्त्रमा समेत व्यपक परिवर्तन ल्याउँछ । विदेशी रक्सीले समाजमा नचाहीदोँ धर्रापन निम्त्यउँछ भने घरेलु रक्सीले समाजमा अपन्नत्व भावना जगरित गरिदिन्छ । सास्ंकृतिक महत्व, सामाजिक मर्यादा सँगसँगै आर्थीक उन्नतीको विशाल सम्भाव्यता बोकेको घरेलु रक्सीलाई ब्राण्डीङ् गर्दा किन कोही कसैको टाउको दुखाइको विषय बन्छ ? हम्रो कुरालाई ब्यण्ड गर्ने र विदेशी वस्तुलाई ब्राण्डिङ् गर्दै जाने हो भने हामी कहिले पनि आत्मस्वाभिमानको साथ बाँच्न सक्दैनौँ । आयत गरेर भन्दा निर्यात गरेर नै देशको आर्थीक उन्नती सम्भव छ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्