जातका घटनाले देखाएको हाम्रो समाजको ऐना

<span class='c1'>जातका घटनाले देखाएको</span> <span class='c2'>हाम्रो समाजको ऐना</span>

विराटनगर

केही महिना पहिला सबैभन्दा धेरै शिक्षित र प्रतिष्ठित मान्छे बसोबास गर्ने गर्छन् भन्ने मानिएको देशको राजधानी काठमाण्डौमा एकजना महिलाले आफ्नो नामको पछाडी झुन्डिएको थरको कारणले बस्ने कोठा पाइनन् । अन्तरजातीय प्रेम सम्बन्धकै कारण पश्चिम नेपाल, जाजरकोटका एकजना युवक आफ्ना तथा परिवारका तमाम सपनाहरु सहित नदीमा बग्न बाध्य भए। पछिल्लो समयमा घटेका यी दुई घटनाहरु हाम्रो समाजमा घट्ने जातीय बिभेदका प्रतिनिधि उदाहरण मात्र हुन्, जुन बाहिर आए । यस्ता अरु कयौं घटनाहरु होलान् जुन अस्वभाविक तथा असामान्य हुँदा हुँदै हामिले स्वभाविक एवम् सामान्य रुपमा लिइराखेका छौँ । जुन घटनाहरु हाम्रो वरिपरि घटिराखेका छन्, तर हामी देखि देखि अन्देखा गरिरहेका छौँ ।

रुपा सुनारले कोठा नपाएको घटनाले पुनः एकपटक समाजको अन्तरङ्ग खोलिदियो । मान्छेहरु यसको पक्ष र बिपक्षमा उभिए । सामाजिक संजालका भित्ताहरु कृया प्रतिकृयामा रङ्गिए । कतिले यो ब्यक्तिको सम्पत्ती सङ जोडिएको विषय भनेर घरभेटिको बिसुद्ध ब्यक्तिगत अधिकारको बिषय हो भने त कतिले यस्लाई ब्यक्ती केन्द्रित मुद्धा भनेर पन्छिन खोजे ।

सम्पत्तिमा ब्यक्तिको आफ्नो अधिकार हुन्छ, र आफ्नो घरमा कसैलाइ राख्ने नराख्ने अधिकार घरभेटिकै हो भनिरहँदा यो जातको मान्छेलाई राख्दिन भन्नू चै कानुनन् अपराध नै हो भन्ने कुरा भुल्न हुँदैन।। यहाँ गल्ती घरभेटिको मात्र पनि छैन । यस्ता घटनाहरु भनेका हिजोको सामन्ति राज्य व्यवस्था र सामाजिक संरचनाले जन्माएका विकृत संस्कारका परिणाम हुन् । र आजका दिनसम्म पनि हामिले यस्ता गलत र अशोभनीय कार्यहरुलाई यो वा त्यो बहानामा त्याग्न नसक्नु चै बिडम्बना हो ।

हाम्रो समाजमा जातीय विभेदले कति सम्म जरा गाडेको छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ कि जब हामी यस्ता मुद्धालाई व्यक्ति केन्द्रित मुद्दा भनेर पन्छिन खोज्छौ । के यो कुनै व्यक्ति वा समुदायको मात्र चासो र सरोकारको बिषय हो? के रुपा सुनारको लडाइँ कसैको घरको कोठा प्राप्त गर्नकै लागि मात्र होला र? पक्कै होइन। उनको लडाइँ त आफ्नो अस्तित्व रक्षाका लागि हो । आत्मसम्मानका लागि हो, मान्छेको दर्जा पाउनका लागि हो ।

अचम्म लाग्छ! आज विश्वमा विज्ञान र प्रविधिले फड्को मारेर मंगल ग्रहमा वस्ती बसाउने योजना बन्दै गर्दा हामी भने जातको दलनबाट अझैसम्म माथी उठ्न सकेका छैनौं । अझै पनि हाम्रो समाजमा मान्छेले मान्छेको अस्तित्व पाउनका लागि अनेक परीक्षा दिनु परेको छ ।

हाम्रो समाजले त यहाँ गल्तिको पनि जात छुट्याउॅछ । यो कुरा मैले अनुभव समेत गरेको छु । म सानो छदा त्यो बेला त्यस्तै ३ कक्षामा पढ्थे होला । म र मेरो साथी जो परियार थरकी थिइन्, हामि एकजना छिमेकी आन्टिको बारिका आरुबखडा चोर्न गएका थियौं । तर त्यत्तिनै बेला हाम्रो चोरी पक्डियो । त्यो आन्टिले हामिलाई गाली गर्दै भन्नुभयो "यो त यो भै गइ, जात जनाउन परिगो तर तिमी चै के भकी यस्ता कुजातको संगतमा लागेर चोरी गर्छौ ?" यहाँ हामी दुबैको गल्ती एउटै थियो तर मेरो गल्ती मात्र गल्ती भयो भने मेरो साथिको गल्ती सँगै उसको सिङ्गो समुदाय समेत गालीको पात्र बन्यो । यहाँ गल्तिको पनि जात हेरियो ।

हरेक मान्छेको जन्म त उस्तै हो, फेरि जन्मिने बित्तिकै को शिशुलाई उस्को के कर्मका आधारमा यो समाजले जातको छाप लगाइदिन्छ? उस्तै, उसैगरी जन्मेको बच्चा जो ब्राह्मण/क्षत्रीको कुलमा जन्मियौ उ श्रेष्ठ कहलाउने अनि त्यस्तै बच्चा जो दलितको कुलमा जन्मियो उ अछुत, निच कहलाउने, यो कहाँको न्याय हो? र यो अन्यायलाई जस्टिफाइ गर्न धर्म र पापका कुरा गरेर शास्त्रका ठेली पल्टाउनु, यो त सरासर गलत भएन र? शास्त्र त मान्छेले नै लेखेका त हुन् र लेख्नेहरुकै प्रभुत्व हावी हुने त भै गयो । र त्यसैको आडमा कुनै एउटा वर्ग समुदायलाई सदिऔँ देखि दबाएर ठूला भनिएकाहरुबाट समाजमा सधैं आफ्नो प्रभुत्व जमाइ राख्न त्यसैलाई धर्मसङ्गत ठहर्याइएको छ । धर्म, संस्कारलाई आफू अनुकुल तोडमोड गरेका उदाहरण त हामी यिनै शास्त्रका ठेलिमा कति पाउन सक्छौं सक्छौँ ।

हामी भन्ने गर्छौं यत्रो पुस्तौं पुस्ता देखि चल्दै आएको परम्परा आजको भोलि कहाँ हट्छ, यसको लागि त समय लाग्छ नि । होला समय लाग्ला । तर कति समय लाग्छ ? अझै १०० वर्ष ? २०० वर्ष ? यसरी समस्यालाई समयको जिम्मा लाइदिएर हामी पानी माथिको ओभानो कहिले सम्म बन्ने? अर्को कुरा, अबको नयाँ पुस्ताबाट बिभेदका श्रृङखलाहरु नदोहोरिने अवस्था छ त? कतै हामि आफु परिवर्तन हुन नसकेर दोश जति अघिल्लो पुस्तालाई थुपारिराखेका त छैनौँ? यो प्रश्न मेरो उच्च कुलका मानिने तपाईं हाम्रो लागि । तपाईं अहिले २५/३० वर्षको हुनुहुन्छ । भोलि तपाईंको छोरा/छोरिको अरेन्ज म्यारिज गर्नु पर्ने भयो भने योग्य वर/वधुका लागि तपाईंको छनौट दलित समुदायमा जान्छ? होला, तपाईंको विचार आधुनिक होला, छोरा/ छोरिको यदि दलित समुदायको केटा/केटि सङ प्रेम सम्बन्ध छ भने, त्यो स्विकार्नु पनि होला तर अरेन्ज विवाहका लागि? आफैंलाई प्रश्न गर्नुस् । अनि मनन गर्नुस् विभेद हाम्रो पुस्तामा छ, छैन? र फेरि तपाईंले बिभेदको पुस्ता हस्तान्तरण गर्नुहुन्छ, हुन्न? यसो भन्दै गर्दा तपाईं हाम्रो फेरि एउटै जवाफ हुन्छ " बिहे हुदैमा समानता हुने हो र"? हो बिहे मात्रले समानता हुदैन । तर यो तपाईँले माने पनि, नमाने पनि समानताको एउटा सुचक चै पक्कै हो ।

एकातिर हामी दमाई दाइले सिइदिएका लुगा खुशी खुशी लाउछौ, उनले सिएका कपडाहरु मन्दिरमा ध्वजा बनाएर चढाउछौ, फेरि अर्कातिर उनैलाई हामी मन्दिरको सङ्घार भने नाघ्न दिदैनौ । उनको सीप चल्ने, तर उनी आफै नचल्ने कस्तो प्रथा हो हाम्रो? एउटा मुर्तिकारले आफ्ना सबै शिल्प पोखेर मुर्ती बनाउछ, र त्यही मुर्ती हामिले स्थापना गरेको मन्दिरको दैलो भित्र पसेपछी उसको लागि चै त्यो दैलो बन्द हुन्छ । हामिले मानेको त्यो भगवान नै त्यही मुर्तिकारले बनाएको हो त ! त्यस्मा त उसका पसिन पसिना सिन्चित भएका छन् त । त्यो मुर्ती ढोग्दै गर्दा त्यस्मा हामिलाई उस्को पसिनाको गन्ध आउदैन? यदि कलाको सर्वाधिकार कलाकारमा हुन्छ भने यो समाजसंग कुनै आधार छ त सर्जकलाई आफ्नै सिर्जना छुन त के देख्न समेत नदिने ? यसको एउटै आधार भनेको हाम्रो रुढीवादी सोच एवम् गलत सामाजिक अभ्यास नै हो ।

सोच्नुहोस् तपाईं/हामि अस्पतालमा मरणासन्न अवस्थामा छौं । हामिलाई रगतको एकदमै धेरै आवश्यकता छ । त्यो बेला हामिले यो जातको मान्छेको मात्र रगत लिने भन्छौं ? तपाईं / हाम्रा आफन्तले सोध्नुहुन्छ रगतको जात? के रगतको पनि कुनै जात हुन्छ? जब हामीलाई आफ्नो फाइदा हुने आफ्नो स्वार्थको बिषयमा छुत अछुत हुँदै भने यसबाट हामी आफ्ना ब्यबहारहरु आफैँ मूल्यांकन गरौँ । हामिलाई अफ्ट्यारो परेको समयमा, संकटको समयमा जात भातले यदि कुनै अर्थ राख्दैन भने अरु समयमा पनि यसको अर्थ छैन र हुनु पनि हुदैन ।

एकपटक सोचौं न, हामिलाई हाम्रो घरमा बुवा/ आमाले आफ्नो दाजु/ भाई, दिदी /बहिनी को भन्दा केही फरक व्यवहार गर्नुभयो । हामिलाई आफू हकदार हुँदा हुँदै कुनै अवसरबाट बञ्चित गरियो भने कस्तो महशुस हुन्छ? राज्यको मुलप्रवाहबाट पछाडी पारिएको कुनै एउट वर्ग समुदायलाई मुलप्रवाहमा ल्याउन केही समयका लागि निस्चित संख्यामा आरक्षणको ब्यवस्था गर्दा आफुले त्यो अवसर नपाएको भनेर हामी कोकोहोलो गर्छौं भने सोचौ कि कुनै एउटा समुदायलाई बर्षौ बर्ष देखि जबरजस्ती दलितको पगरी भिराइदिएर न्युनतम मानवीय व्यवहार समेत नगरिदा त्यो समुदायका मन्छेलाई कस्तो महशुस होला! एकपटक उनिहरुको आखाबाट सन्सार हेरौ न ! अनि आफैलाई प्रश्न गरौं के हामिमा मानवता छ? हाम्रा ब्यबहारहरु मानवोचित छन् ? के यो समाज बस्न लायक छ त?

अन्त्यमा, यदि हामी स्वस्थ र समुन्नत समाज चाहान्छौँ भने जन्मकै मात्र आधारमा उच निच कहलाउने यो परम्परा पनि तोडिनुपर्छ । यो कुप्रथाले हाम्रो समाजमा बिभाजन र बिखन्डन मात्र ल्याउने हो । र यसको अन्त्य संविधानका धाराहरुबाट मात्र सम्भव नहुने कुरा त हामिले देखि भोगी सक्यौं । यो कुप्रथाको अन्त्यका लागि हाम्रा ब्यबहारमा समेत सुद्धिकरणको आवश्यकता छ । जुन व्यक्ती स्वयमले मात्र गर्न सक्ने कुरा हो । यसबाट केही समयलाई कुनै वर्ग/ समुदायलाई फाइदा पुगे जस्तो देखिए पनि यसको दीर्घकालीन असर राम्रो हुँदैन । यसको कारण हामि मानव विकासको गतिमा धेरै पछाडि परि सक्यौं । मान्छेको एउटै मात्र धर्म मानवता हो । मान्छेको एउटै मात्र जात भनेको मान्छे नै हो । मान्छेको अरु कुनै जात हुँदैन । त्यसैले जातीय भेदभाव र छुवाछुत जस्तो अमानवीय कृत्य त्यागौँ । मान्छे बनौं । जन्म सबैको बराबर हो । जन्मकै आधारमा कोहि पनि श्रेष्ठ हुदैन ।

लेखक प्रदेश नम्बर १ स्थित सामाजिक विकास मन्त्रालयमा कार्यरत हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्