विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण उप–समिति गठन गरिएको छ । विस्तार योजनाका लागि संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित उप–समिति गठन गरेर काम अगाडी बढाउने तयारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको संयोजकत्वमा गत साउन १३ गते बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाको संयोजकत्वमा नापी, मालपोत, विराटनगर महानगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नागरिक उड्डयन प्राधिकरणका अधिकृतस्तरका कर्मचारी रहने गरि उप–समिति गठन गर्ने निर्णय गरेको थियो ।
मुआब्जा निर्धारण उप–समिति एवं मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले गठित उप–समितिमा संलग्न प्रतिनिधिहरुको सम्बन्धित कार्यालयबाट नामहरु आईनसकेको बताउनुभयो । उहाँले यहि हप्ता बैठक बस्ने गरि सम्बन्धित कार्यालयका प्रतिनिधिहरुको सिफारिस गर्नका लागि अनुरोध गरिएको बताउनुभयो ।
सम्बन्धित कार्यालयका प्रतिनिधिको नाम आईसकेपछि भदौको पहिलो हप्तामा बैठक राख्ने योजना रहेको उहाँले बताउनुभयो । विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका जग्गाधनीले हकदावी दर्ता गराईसकेका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीलाई हकदावी प्रस्तुत गर्नका लागि गत चैतमा सूचना जारी गरिएको थियो । विराटनगर विमानस्थल तीन हजार मिटर लम्बाईमा विस्तारका लागि मोरङ र सुनसरी जिल्लाको जग्गा आवश्यक पर्नेछ ।