काठमाडौँ
पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७ सय २ तथा एन्टिजेनबाट २ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २ सय ४८ सङ्क्रमित निको भएका छन् । हालसम्म छ लाख ९८ हजार १ सय ७३ जना कोरोनाबाट मुक्त भएका छन् । निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७ सय ५१ रहेको छ ।
बितेका २४ घण्टमा देशभर १८ हजार ३ सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १ सय ६९ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
थप २४ सङ्क्रमितको मृत्यु
पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
–